बागमतीमा गीता देवकोटा र प्रेमप्रसाद दंगाल विजयी
हेटौंडा-राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ नेपाली कांग्रेसकी गीता देवकोटा र अन्य समूहबाट नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन् । महिलातर्फ निर्वाचित देवकोटाले प्रदेशसभातर्फ ६० मतसहित ३ हजार १८० मतभार प्राप्त गरिन् भने स्थानीय तहतर्फ १ सय ६१ मतसहित ३ हजार ५९ मतभार पाइन् । उनले कुल ६ हजार २ सय ३९ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । अन्य समूहबाट निर्वाचित दंगालले प्रदेशसभातर्फ ५९ मतसहित ३ हजार १ सय २७ मतभार प्राप्त गरे । स्थानीय तहतर्फ १ सय ६२ मतसहित ३ हजार ०७८ मतभार पाउँदै उनले कुल ६ हजार २०५ मतभार हासिल गरे ।
महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५ सय २२ मतभार प्राप्त गरे भने नेमकिपाकी कविता महर्जनले १ सय ९७ मतभार पाइन् । अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५ सय ४१ मतभार प्राप्त गरे भने नेमकिपाका विक्रम ढुकुक्षुले १ सय ९७ मतभार पाए । निर्वाचनमा प्रदेशतर्फको ३ मत र स्थानीय तहतर्फ ४ मत बदर भएको निर्वाचन अधिकृत श्रेष्ठले बताइन् । निर्वाचनमा बागमती प्रदेशसभाका ८९ जना प्रदेशसभा सदस्य र स्थानीय तहका २ सय २९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय १८ जनाले मतदानमा सहभागी भए ।
प्रदेशसभातर्फ ४ हजार ७ सय १७ मतभार र स्थानीय तहतर्फ ४ हजार ३ सय ५१ मतभार खसेको थियो । कुल ९ हजार ०६८ मतभार खसेको निर्वाचन कार्यालयले जनाएको छ । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा २० जना मतदाता अनुपस्थित रहे । अनुपस्थितमध्ये १५ जना प्रदेशसभा सदस्य र ५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन् । राप्रपा र हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यहरुले मतदान प्रक्रियामा सहभागिता जनाएनन् ।
नेकपाकी रमा आलेमगर स्वास्थ्य उपचारका सिलसिलामा भारतमा रहेकाले मतदान गर्न असमर्थ भएको बताइएको छ । स्थानीय तहतर्फ दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी, दोलखा बिगु गाउँपालिका अध्यक्ष सञ्जिव वली, शंखरापुर नगरपालिका प्रमुख रमेश नापित, ललितपुर महानगरपालिका उपप्रमुख मुना अधिकारी र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अध्यक्ष अप्सरा लम्साल अनुपस्थित रहेका थिए । यसैबीच, इच्छाकामना गाउँपालिका उपप्रमुख माया सिलवाल काजकिरियामै रहेर पनि मतदानमा सहभागी भएकी थिइन् । उनका श्रीमानको चार दिनअघि निधन भएको थियो ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा महिलातर्फ १ र अन्यतर्फ १ गरी दुई पदका लागि मतदान भएको हो । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले महिलाअधिकार, संविधान संरक्षण तथा आवश्यक कानून निर्माणलाई प्राथमिकता दिने बताएका छन् । राष्ट्रियसभामा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नवनिर्वाचित सदस्य गीता देवकोटाले महिला, किसान, लोकतन्त्र र संविधानको संरक्षणका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । महिला क्लष्टरमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनबाट विजयी भएकी उनले यो जित आफू एक्लोको नभई पार्टी देश र जनताको जीत भएको बताइन् ।
देवकोटाले महिला अधिकार र उद्यमशीलताको क्षेत्रमा विशेष ध्यान दिने उल्लेख गर्दै स्थानीय, प्रदेश तथा संघीय तहसम्म महिला अधिकार र संविधानको संरक्षणका विषयमा सक्रियरुपमा काम गर्ने प्रतिवद्धता जनाइन् । अन्य समूहबाट निर्वाचित दंगालले आवश्यक कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने बताए । उनले राष्ट्रियसभाको भूमिकालाई अझ प्रभावकारी बनाउँदै विकास निर्माण, सुशासन र सामाजिक समृद्धिलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विशेष गरी प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको मतबाट निर्वाचित हुने भएकाले उनले तल्लो तहका समस्या र अधिकारलाई केन्द्रमा जोड्ने प्रतिबद्धता व्यक्त व्यक्त गरे । डा. दंगाल राष्ट्रिय सभाको यो अवसर सहजै नआएको बताउँछन् । यसअघि २०६४ सालको संविधानसभा र दुई वर्षअघिको राष्ट्रियसभा निर्वाचनमा पनि उनको नाम सिफारिस भएको थियो । अन्तिम समयमा अवसर नपाउँदा पनि विचलित नभई पार्टीको निर्णयलाई स्वीकार गरेका आफूलाई यसपटक विज्ञता र निरन्तरताको उच्चमूल्यांकन भएको उनको
भनाइ छ ।
‘प्रतिनिधिसभा प्रत्यक्ष रुपमा जनताका विकास निर्माणका कामसँग जोडिन्छ तर, राष्ट्रियसभाले गम्भीरताका साथ ऐन कानुन र राष्ट्रिय नीतिहरु बनाउनमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘पार्टीभित्र धेरै प्रतिस्पर्धा हुन्छ, औसत मान्छे भएर मात्र पुग्दैन, आफूसँग मुद्दाहरुको विश्लेषण गर्ने क्षमता र विशेष योग्यता हुनुपर्छ ।’राष्ट्रियसभा सदस्यका लागि पुस २३ गते प्रदेश निर्वाचन कार्यालय हेटौंडामा चार दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट मनोनयन दर्ता भएको हो । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा (समाजवादी) का बेदुराम भुषालको पदावधि आगामी फागुन महिनामा सकिँदैछ । सोही स्थानमा निर्वाचन भएको हो ।







