भारतमा दूधको मूल्य बढेपछि मकवानपुरका किसानले पाए बजार

साझाकुरा
२०८२ माघ २२, बुधबार १२:३५

हेटौंडा-भारतमा दूधको मूल्य बढेपछि मकवानपुरका दुग्ध उत्पादक किसानले आफ्नो उत्पादनको बजार पाएका छन् । विगतमा भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा ठूलो परिमाणमा भारतबाट अवैधरुपमा मकवानपुरमा दूध भित्रिने गरेकाले स्थानीय किसानले उत्पादन बिक्री गर्न कठिनाइ भोग्दै आएका थिए । तर, यसवर्ष भारतमा दूधको मूल्य नेपाली दूधसरह पुगेपछि अवस्था उल्टिएको छ ।

अघिल्ला वर्षमा यही मौसममा भारतबाट अवैधरुपमा दूध भित्रिँदा मकवानपुरसहित बागमती प्रदेशका किसानले उत्पादन खपत गर्न नसकेर प्रशोधन उद्योगमा पठाउन बाध्य हुन्थे । कतिपय अवस्थामा दूध बिक्री नभएपछि ‘मिल्क होलिडे’ गर्नुपरेको थियो । तर, यस वर्ष भारतमा दूधको मूल्य बढेपछि भारतीय दूध नेपाल भित्रिन बन्द भएको छ ।

सीमावर्ती क्षेत्रबाट नेपाली दूध लुकिछिपी भारततर्फ जान थालेको छ । यसले मकवानपुरका किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार हाल भारतमा दूधको मूल्य नेपालको भन्दा करिब ४६ पैसा मात्र बढी छ । ‘ढुवानी खर्च जोड्दा भारतीय दूध नेपालमा महँगो पर्छ, त्यसैले यसवर्ष भारतबाट दूध आएको छैन । बरु यहाँको दूध सीमाबाट भारततर्फ गएको सूचना आएको छ,’ उनले भने । उनका अनुसार समयमै भुक्तानी नपाउँदा केही किसानले पशुपालनप्रति रुचि घटाएकाले उत्पादनमा भने सामान्य गिरावट आएको छ ।

यकिन तथ्यांक नभए पनि हाल दैनिक करिब ४५ लाख लिटर दूध उत्पादन भइरहेको र यो गतवर्षको तुलनामा करिब एक लाख लिटरले कम भएको अनुमान छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले भारततर्फबाट दूध नआएकै कारण मकवानपुर र आसपासका जिल्लामा उत्पादित दूधले सहजरुपमा बजार पाएको बताए । ‘मङ्सिर, पुस र माघमा दूधको खपत घट्ने भएकाले व्यवस्थापन जटिल हुन्छ । तर, भारतबाट दूध नआउँदा यसवर्ष हामीलाई राहत भएको छ,’ उनले भने । विगतका वर्षमा मिल्क होलिडेसम्म गर्नुपरेको स्मरण गर्दै उनले अहिले उत्पादन भएको दूध सहजै खपत भइरहेको बताए ।

दूध बिक्री नभएपछि प्रशोधनका लागि जाने प्रमुख उद्योग चितवन मिल्कमा समेत यसवर्ष चाप कम देखिएको छ । चितवन मिल्कका प्रबन्धक दुर्गाप्रसाद पराजुलीका अनुसार विगतमा तीन दिनसम्म कन्टेनर लाइन लाग्ने अवस्था रहे पनि यसवर्ष त्यस्तो समस्या छैन । गतवर्ष दैनिक करिब दुई लाख लिटर दूध प्रशोधनका लागि आउने गरेकामा यसवर्ष ७० हजार लिटर हाराहारी मात्रै आएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*