गाँजाखेतीलाई बैधानिकता : सन्तोषको प्रमुख चुनावी एजेण्डा

साझाकुरा
२०८२ माघ २६, आईतवार १३:१३

हेटौंडा, २४ माघ÷ प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मकवानपुर–२ मा उम्मेदवार बनेका सन्तोष विष्टले गाँजाखेतीलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् । चुनावी प्रचारप्रसारको क्रममा क्षेत्र नं. २ का मतदातासमक्ष विष्टले चुनावी एजेन्डा प्रस्तुत गरेका हुन् । मकवानपुर–२ मा किसानका मुख्य समस्या गाँजाखेती रहेकाले कानुनी दायरामा ल्याएर खुला गर्नुपर्ने उनले बताए । ‘यहाँ हाम्रो किसानले गाँजाखेती गर्नुहुन्छ । गाँजा औषधीय गुणको रुपमा प्रयोग गरिन्छ भनेर वैज्ञानिकरुपमा पुष्टि भएको छ ।

तर, यहाँ प्रतिबन्धित लागुऔषधको रुपमा जनतालाई दुःख दिने काम भइरहेको छ’, उनले भने, ‘राज्यद्वारा यहाँ लगभग हरेक हप्ता एक न एक जनालाई समातेर जेलमा लाने गरेको छ । सबैले ओठे प्रतिबद्धता जाहेर गरिरहेका छन् । तर, मैले व्यक्तिगतरुपमा गाँजाखेतीलाई कानुनको दायरामा ल्याएर यसलाई खुल्ला गर्नुपर्छ भनेका छौँ । अहिले जतिपनि गाँजा बोकेकै अभियोगमा कारागारमा हुनुहुन्छ, उहाँहरुलाई उच्चसम्मानका साथ रिहा गर्नुपर्छ भनेर मैले आवाज उठाएको छु ।’

उनले आफू निर्वाचित भएमा यस एजेन्डालाई संसदमा पेश गर्ने प्रतिबद्धता जनाए । यदि कथमकदाचित निर्वाचित नभएको खण्डमा पनि आजीवन यो एजेन्डालाई नछाड्ने विष्टले स्पष्ट पारे । उनले पार्टी र आफूलेले अगाडि सारेको दुईवटा एजेण्डा प्रस्तुत गरेका थिए । पहिलो एजेन्डा पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीको एजेन्डा नै मेरो पहिलो एजेन्डा हो । दोस्रो एजेन्डा म उम्मेदवार भएको कारणले यो ठाउँ, मकवानपुर क्षेत्र नम्बर २ का जनताको एजेन्डा नै मेरो एजेन्डा हो ।

पहिलो एजेन्डाको रुपमा पार्टीले अगाडि सारेको, अहिले देश जसरी क·ाल बनेको छ, जसरी भद्रगोलमा गएको छ, देश यो स्थितिमा पुग्नुमा मुख्य गरी कुशासन र भ्रष्टाचार हो भनेर हाम्रो पार्टीले ठहर गरेको छ । ‘भ्रष्टाचार र कुशासनको एउटै लक्ष्य अन्त्य, प्रगतिशील लोकतान्त्रिक पार्टीको लक्ष्य’ भनेर हामीले नारा नै तय गरेका छौँ । हामी सुशासन चाहन्छौँ । हाम्रो पार्टीले मुख्यरुपमा सुशासनलाई मुख्य जोड दिएको छ । सुशासन कायम भयो भने मात्रै यो देश अगाडि बढ्न सक्छ, जनताको समृद्धि हुन सक्छ । आमजनताले अपेक्षा अनुसारको शासन व्यवस्था हुन्छ भन्ने हाम्रो निष्कर्ष छ ।

अहिले जसरी ५ वर्षको बीचमा पटकपटक सरकार परिवर्तन हुने देखिएको छ, यसको मुख्य जड भनेको शासकीय स्वरुप हो भनेर हाम्रो पार्टीको निष्कर्ष छ । त्यसको लागि प्रत्यक्ष जनताद्वारा निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ । पार्टीको त्यो एजेन्डा मेरो एजेन्डा हो । यसैगरी मकवानपुर २ मा म उम्मेदवार बन्दै गर्दा यहाँ यावत् समस्या छन् । अल्पसंख्यक चेपाङदेखि लिएर यहाँ बहुसंख्यक जनजाति तामाङ समुदाय यहाँ बसोबास गर्नुहुन्छ । यो क्षेत्रमा ६२ वटा वडा छ । यहाँ मुख्य समस्या हाम्रो किसानले गाँजाखेती गर्नुहुन्छ ।

गाँजा औषधीय गुणको रुपमा प्रयोग गरिन्छ भनेर वैज्ञानिकले पुष्टि गरेका छन् तर, यहाँ प्रतिबन्धित लागुऔषधको रुपमा जनतालाई दुःख दिने काम भइरहेको छ । सबैले ओठे प्रतिबद्धता जाहेर गरिरहेका छन् । तर, हामीले र मैले व्यक्तिगतरुपमा गाँजाखेतीलाई कानुनको दायरामा लिएर आएर यसलाई खुल्ला गर्नुपर्छ । भदौ २३ र २४ गते पछिको घटनापछि हुन गइरहेको यो निर्वाचनलाई हामीले एकदमै सचेतताका साथ प्रयोग गर्नुपर्छ । यसक्षेत्रका लगभग एक लाख ५६ हजार ९०० मतदाता हुनुहुन्छ ।

तपाईंहरु सबै यो निर्वाचनमा सहभागी भइदिनुस्, उनले आग्रह गरेका छन् । आफ्नो मतको उच्चतमरुपमा प्रयोग गरिदिन मतदातालाई आग्रह गरेका छन् । ‘तपाईंहरुले अब सुशासन चाहने दललाई छान्नुपर्छ, सुशासन कायम गर्न सक्ने दलको प्रतिनिधिलाई छान्नुपर्छ । परम्परागत दल, परम्परागत नेता, परम्परागत नीति बोकेकालाई तपाईंहरुले अब पाखा लगाइदिनुपर्छ’ उनले भने । ‘म जस्तो नयाँ विचार, नयाँ एजेन्डा र नयाँ विषयका साथ तपाईंहरुसमक्ष आइरहेकालाई मतदान गरिदिनुहुन्छ भनेर म आग्रह पनि गर्छु’ उनले मतदातालाई भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*