बालजागृतिमा बृहत् सांस्कृतिक तथा शैक्षिक प्रदर्शनी

साझाकुरा
२०८२ माघ ३०, बिहीबार १२:५२

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२ स्थित बालजागृति इंग्लिस सेकेन्डरी बोडिङ स्कुलले बृहत् सांस्कृतिक तथा शैक्षिक प्रदर्शनी आयोजना गरेको छ । माघ २५ गतेदेखि सुरु भएको कार्यक्रम माघ २९ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । कार्यक्रम अन्तर्गत माघ २५ गते प्रीप्राइमरी तह, २६ गते कक्षा १ देखि ३ सम्म र २७ गते कक्षा ४ र ५ का विद्यार्थीको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो भने बुधबार कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । यस अवसरमा विद्यालयले दीर्घसेवा सम्मान, शैक्षिक उपलब्धि सम्मान तथा बालजागृति शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

विद्यालयले स्कुल बसका चालक, सहचालकदेखि शिक्षकसम्मलाई दीर्घसेवा सम्मान गरेको हो । एसईई तथा नगरस्तरीय कक्षा ८ को आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउन योगदान पु¥याउने विषयगत शिक्षक तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिएका छन् । हेटौंडा उपमहानगरपालिका–२ का वडाअध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा आयोजित पुरस्कार वितरण समारोहमा यसवर्षको बालजागृति शिक्षा पत्रकारिता पुरस्कार पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाललाई प्रदान गरिएको छ ।

नेपाल टेलिभिजन, टिम टेलिभिजन तथा छहारी नेटवर्कमा आवद्ध रिजाललाई नगद १० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको हो । दीर्घसेवा सम्मानबाट निम्नमाध्यमिक तहका शिक्षक शिवपुजन जैसवाल, प्राथमिक तहका शिक्षक सुदीप श्रेष्ठ, दीपा न्यौपाने र साजना कार्की तथा पूर्वप्राविधिक तहकी शिक्षिका बन्दना अधिकारी सम्मानित भएका छन् । कार्यालय सहयोगी विमला पौडेल, बस चालक नवराज ढुंगेल र सहचालक सुमित्रा घलानलाई पनि दीर्घसेवाबाट सम्मान गरिएको छ ।

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन योगदान पु¥याउने विषयगत शिक्षक गणित विषयका विनोद सुवेदी, अंग्रेजी विषयका अमुल श्रेष्ठ, ऐच्छिक वातावरण विज्ञानका उमेश अर्याल, विज्ञान विषयका प्रेम हमाल र देवराज ढुंगेल, नेपाली विषयका निर्मल घिमिरे, गणित विषयका लालकाजी परियार, ऐच्छिक गणितका तुलसी न्यौपाने, सामाजिक अध्ययनका विश्वराज सापकोटा, लेखा विषयका अशोक मैनाली तथा कम्प्युटर विज्ञान विषयका राजेश सुवेदीलाई नगदसहित सम्मान गरिएको थियो । नगरस्तरीय आधारभूत तह परीक्षामा उत्कृष्ट जिपीए ल्याउने आर्सु श्रेष्ठ, स्वर्णीम सुवेदी, अर्पित गौतम, अंकित गौतम, रिदिम आचार्य, अस्मिता थिङ र सदिक्षा हुमागाईं सम्मानित भएका छन् ।

उनीहरुलाई विद्यालयले जनही १८ हजार रुपैयाँ बराबरको चार महिनाको मासिक शुल्क मिनाहा गरेको छ । कार्यक्रममा बोल्दै प्रमुखअतिथि महर्जनले उत्कृष्ट नतिजाका कारण विद्यालय वडाको मात्रै नभई जिल्लाकै गौरव र पहिचान बनेको बताएका छन् । शिक्षासँगै विद्यार्थीको प्रतिभा विकासमा विद्यालयले खेलेको भूमिकाको उनले प्रसंसा गरे । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड मकवानपुरका प्रमुख बद्री बहादुर पाठक, प्याब्सन मकवानपुरका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । विद्यालयले माघ २९ गते बिहीबार बृहत् शैक्षिक प्रदर्शनी आयोजना गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*