सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष चुनाव गराउन सक्दैन : विप्लव
हेटौंडा, २९ माघ÷नेकपा (माओवादी) का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको मन्त्रीमण्डल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कब्जा गरेको आरोप लगाएका छन् ।एनजिओमा काम गर्ने व्यक्तिलाई समावेश गरेर सरकार गठन भएको उनको धारणा छ । बिहिबार हेटौंडामा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले आपूm अनुकूल नियम कानुन बनाएर मन्त्री पदबाट राजीनामा दिएर रास्वपाबाट चुनाव लड्न गएको आरोप पनि लगाए । अहिले मन्त्रीमण्डलमा भएका मन्त्रीहरु पनि निष्पक्ष नभएको र रास्वपालाई चुनावमा सहयोग गर्ने मनसायमा रहेको उनले टिप्पणी गरे । महासचिव विप्लवले सुशीला कार्की नेतृत्वको सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने ठोकुवा गरे ।
चुनाव गराउने आधार र अधिकार वर्तमान सरकारलाई नभएको उनको जिकिर थियो । महासचिव विप्लवले प्रधानमन्त्री कार्कीलाई संविधानको कुन धारा अनुसार र कसको स्वीकृतिमा प्रधानमन्त्री बनेको ? भन्दै प्रश्न गरे । राजनीतिक दल, बुद्धिजीविहरु समेतको संलग्नतामा बन्ने सरकारले मात्र निष्पक्ष चुनाव गराउन सक्ने उनको भनाई छ ।महासचिव विप्लवले चुनाव हुन्छ कि हुँदैन ? भन्ने अन्यौलताका बीच चुनाव हुने वातावरण निर्माण भएपछि मात्र पार्टी प्रवक्ताको नेतृत्वमा चुनावमा गएको बताए ।
महासचिव कै नेतृत्वमा चुनावमा जानुपर्ने कुरा उठेपनि सरकारले आफ्नो पार्टीलाई पक्षपातपूर्ण व्यवहार गरेपछि प्रवक्ताको नेतृत्वमा संसद्मा प्रतिनिधित्व गर्ने उद्देश्यले निर्वाचनमा होमिएको उनको भनाई छ । सरकारले नेकपा माओवादीलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन नगरेको उनले जिकिर गरे । महासचिव विप्लवले संघर्षको माध्यमबाट जेनजीको पूरा नभएका मागलाई संसद्बाट पूरा गराउन संसदीय निर्वाचनमा भाग लिएको स्पष्ट पारे । महासचिव विप्लवले नेपाललाई विदेशी राष्ट्रहरुले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोजिरहेको बताए ।
देशलाई निकास दिने उद्देश्य सरकारको नरहेको उनको भनाई छ । महासचिव विप्लवले राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गर्ने साम्राज्यवादीको विरुद्धमा संघर्ष गर्नुपर्ने बताए । ठुलाठुला षड्यन्त्र मार्फत चुनावलाई निष्पक्ष हुन नदिने खेल काठमाडौँमा चलिरहेको उनले उल्लेख गरे । महासचिव विप्लवले चुनावी मोर्चाबाट आफ्नो पार्टी नहट्ने दोहो¥याएका छन् । गणतन्त्रको १८ वर्षको अवधिमा जनताप्रति समर्पित दलहरुलाई आगामी चुनावमा जिताउन पनि उनले आह्वान गरे । महासचिव विप्लवले निस्वार्थ भावनाले जनताको सेवा गर्न प्रतिबद्धता व्यक्त गरे ।
उनले फागुन २१ गते हुन लागेको चुनाव जेनजी आन्दोलनको मर्म विपरीत हुन लागेको बताए । राज्य पुर्नसंरचना, संविधान संशोधन, भ्रष्टचार अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुने गरी चुनाव हुनुपर्ने उनको धारणा छ । महासचिव विप्लवले जेनजी पुस्ताको माग चुनावमात्र नभएको बताए । सर्वपक्षीय अन्तरिम सरकार गठन गरी स्थित सरकार हुने गरी चुनाव गर्नुपर्ने आफ्नो पार्टीको अडान रहेको उनले जिकिर गरे । देशको नेतृत्व एकचोटी आपूmहरुले गर्न पाउनुपर्ने पनि उनको भनाई छ ।
महासचिव विप्लवले राष्ट्रिय स्वाधीनताको पक्ष र भ्रष्टचारको विरुद्धमा नेकपा माओवादी बाहेक अरु कुनैपनि पार्टी सडकमा नरहेको दाबी गरे । पत्रकारहरुको जिज्ञाशामा महासचिव विप्लवले जेनजी युवाको मागअनुसार नै चुनाव गराउनु उत्तम विकल्प भएको बताए । केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर अरु कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउन मात्र जेनजी आन्दोलन नभएको उनले बताए । प्रत्यक्ष कार्यकारी प्रमुख चुन्ने गरी हुने निर्वाचनबाट मात्र देशले निकास पाउने उनको भनाई छ ।
मन्त्री भएर राज्यको सम्पत्ती दुरुपयोग गर्ने मनसायले चुनावमा नगएको उनले उल्लेख गरे । कुनै एक पार्टीले बहुमत ल्याएर सरकारले बनाउने स्थिति नरहेको दाबी गर्दै उनले ६–६ महिनामा चुनाव हुने स्थिति देखापरेको बताए ।महासचिव विप्लवले प्रचण्ड र बाबुरामको साथ आपूmहरुले पद र सुविधाको लागि मात्रै छोडेको भन्न नमिल्ने बताए । माओवादी आन्दोलन असफलतातर्फ उन्मुख हुँदै गएकोले प्रचण्ड र बाबुरामको साथ छोडेको उनले स्पष्ट पारेका छन् ।कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार महेश नेपाल, क्षेत्र नं. २ का उम्मेदवार राम घलान वाटरलगायतको उपस्थिति रहेको थियो ।







