हेटौंडा हस्पिटल अनुगमन गरेकै भोलिपल्ट मुख्यमन्त्रीको निर्देशन:‘गैरजिम्मेवार चिकित्सक र कर्मचारीलाई कारवाही हुन्छ’
हेटौंडा- बुधबार साँझ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौंडा अस्पतालको आकस्मिक अनुगमन गरेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहिबार प्रतिष्ठानका सरोकारवाला पक्षसँग छलफल गरेका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकूलपति डा. प्रदीप ज्ञवाली, रजिस्ट्रार एवम् हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईं तथा निमित्त निर्देशक डा. हरिबहादुर खड्कालाई बोलाएर मुख्यमन्त्री बानियाँले छलफल गरेका हुन् । छलफलका क्रममा उनले डिउटी समयमा अनुपस्थित रहने चिकित्सक तथा कर्मचारीलाई तत्काल सचेत गराई सुधार गर्न निर्देशन दिएका छन् ।
यस क्रममा मुख्यमन्त्री बानियाँले गैरजिम्मेवार चिकित्सक, कर्मचारी तथा अस्पताल प्रशासनमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । कम्तिमा एकदिन अगावै जानकारी गराएर मात्र बिदा बस्न, बिदाको समयमा बिरामी सेवामा असर नपर्ने गरी डिउटी मिलान गर्न अस्पताल प्रशासनलाई उनले निर्देशन दिए । डिउटी समयमा अनिवार्य रुपमा तोकिएको पोशाक (ड्रेस) लगाउन र अस्पतालभित्र सरसफाइमा विशेष ध्यान दिन उनले अनुरोध गरे । मुख्यमन्त्री बानियाँले स्वास्थ्यसेवा संवेदनशील क्षेत्र भएकाले नागरिकले गुणस्तरीय र नियमित सेवा पाउनुपर्नेमा जोड दिँदै अस्पताल प्रशासनलाई जिम्मेवार र उत्तरदायी ढंगले काम गर्न आग्रह गरे ।
अस्पतालबाट प्रवाह हुने सेवा सुविधा, चिकित्सक, स्वास्स्त्यकर्मी तथा कर्मचारीको व्यवहारका विषयमा जनगुनासो आएपछि मुख्यमन्त्री बानियाँले आकस्मिक अनुगमन गरेका थिए । अनुगमनका क्रममा डिउटी समयमा केही चिकित्सक तथा कर्मचारी अस्पतालमा अनुपस्थित भेटिएपछि उनले असन्तुष्टि जनाए ।







