रेडियो थाहासञ्चारको आयोजना सरसफाई कार्यक्रम
हेटौंडा- विन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार पहिलोदिन हेटौंडा–१ स्थित तरकारी तथा फलफूल बजारपरिसरमा सरसफाई गरिएको हो । कार्यक्रम रेडियोका सञ्चालक अरुणराज सुमार्गीको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरप्रवक्ता तथा हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि नगरप्रवक्ता न्यौपानेले मानव जीवनको सबैभन्दा पहिलेको सुरुवात सरसफाईबाट नै हुने भन्दै आफ्नो वार्षिकोत्सवको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएकोप्रति रेडियो थाहासञ्चारको टिमलाई धन्यवाद व्यक्त गरे ।वडाध्यक्ष न्यौपानेले तरकारी तथा फलफूल बजार यो स्थानमा सारिएको दिनको स्मारण गर्दै त्यसको व्यवस्थापन गर्नका लागि हरेक वर्ष नगरपालिकाले बजेट विनियोजित गरेको जानकारी गराए ।
फोहोरलाई मोहोर बनाउन लाग्नुपर्ने, सबैले घरबाटै फोहोर वर्गीकरण गर्दै फोहोर व्यवस्थापन गर्नुपर्ने र सरसफाई स्वास्थ्यसम्म जोडिएको विषय भएकाले फोहोर व्यवस्थापन गर्न जोड दिए । थाहा अभियान, रुपचन्द्र विष्ट र रेडियोको सम्बन्ध यसले गर्ने क्रियाकलापका कारण सकरात्मक परिवर्तनका लागि भूमिका निर्वाह गरेको प्रस· जोड्दै आगामी दिनमा पनि सोही अनुसारको कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । राजन अनुरागले सञ्चालन गरेको कार्यक्रममा आरती अघिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने सप्ताहव्यापी कार्यक्रमबारे रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले जानकारी गराएका थिए ।
म्यानेजर अधिकारी भोलि शनिबार पत्रकार महिला र महिला अधिकारकर्मीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने, फागुन ३ गते थाहादर्शन कार्यक्रम, फागुन ४ गते स्वास्थ्य तथा शैक्षिक सामग्री, श्रोतामिलन कार्यक्रम, हेटौंडा ऐकेडेमीको सहकार्यमा बालसाहित्य कार्यक्रम र फागुन ७ गते थाहा वर्ष सम्मान तथा समापन समारोह हुने जानकारी दिए । कार्यक्रममा नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद हुमागाई, टोलविकास संस्था नगरसमन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुव अधिकारी, ग्रीन एण्ड क्लिन सिटी सर्भिसेज प्रालिका नवराज खतिवडा, सहरी स्वास्थ्य केन्द्र नकौलीको प्रतिनिधि प्रतिष्ठा कार्की, नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका सचिव नवराज पौडेललगायतको स्थानीय कृषक, व्यवसायीको सहभागिता रहेको थियो । उनीहरुले आआफ्ना धारणा राख्दै कृषिक्षेत्रको विकासका लागि सहकार्य आवश्यक रहेको बताएका थिए । रेडियो थाहाले जनसरोकारमा प्रत्यक्ष, परोक्षरुपमा सामाजिक क्रियाकलापमा संलग्न हुँदै रेडियोले निरन्तर १८ वर्षदेखि समाचार, विचार, मनोरञ्जनका विविध पाटाहरुमा आवाजविहीनको आवाज बुलन्द पार्दै आइरहेको छ ।







