आर्थिक, प्राविधिक र नीतिगत समस्याले रेडियो थलिंदै
हेटौंडा-बिपद् तथा आपतकालीन अवस्थामा जनतालाई छिटो र भरपर्दो सूचना दिने प्रमुख माध्यमको रुपमा रहेको रेडियो अहिले गम्भीर संकटमा परेको छ । निजी तथा सामुदायिक दुबैखालका रेडियो आर्थिक, प्राविधिक र नीतिगत समस्याले थलिएका छन् । सञ्चालन खर्च धान्न नसक्दा कतिपय रेडियो बन्द हुने अवस्थामा पुगेका छन् भने कतिपयले प्रसारण समय घटाएर जसोतसो टिकाइरहेका छन् । सञ्चार तथा सूचना मन्त्रालय, सूचना प्रसारण विभागका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म इजाजत लिएका १ हजार २ सय ४ रेडियोमध्ये ७ सय ३५ वटा मात्रै नियमित प्रसारणमा छन् । बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयका अनुसार प्रदेशमा हाल १०० वाटभन्दा माथि १ हजार वाटसम्मका ९८ वटा रेडियो दर्ता रहेका छन् । तीमध्ये ८१ वटा नवीकरण भएका छन् ।
१०० वाटसम्मका रेडियो स्थानीय तहको मातहत रहने व्यवस्था छ भने सय वाटभन्दा माथिका हजार वाटसम्मका रेडियो प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्छन् तर, प्रदेश सरकारले रेडियो क्षेत्रका लागि पर्याप्त बजेट छुट्याएको छैन । चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले समग्र सञ्चारक्षेत्रका लागि जम्मा १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको छ । जुन रकम रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन सबैका लागि भएकाले रेडियोक्षेत्रमा अपेक्षित सहयोग नपुगेको रेडियो सञ्चालकको गुनासो रहेको छ । लामो समयदेखि सञ्चालनमा रहेका रेडियोका लागि राज्यले सहयोग उपलब्ध गराउन आवश्यक रहेको रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारीले बताए ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगरले रेडियोको अस्तित्व जोगाउन राज्यका तीनै तह जिम्मेवार हुनुपर्नेमा जोड दिए । रेडियो जोगाउनु सञ्चालकको मात्र नभई, राज्य र समाज सबैको साझा जिम्मेवारी रहेको उनको भनाई छ । पछिल्लो समय रेडियोका नियमित श्रोता पनि घट्दै गएका छन् । यद्यपि, कतिपय रेडियोले पोडकास्ट, भिडियो क्लिप्स र सामाजिक सञ्जालमार्फत् सामग्री प्रसारण गर्दै नयाँ श्रोता जोड्ने प्रयास पनि गरिरहेका छन् । यसैबीच, शुक्रबार विश्व रेडियो दिवस रेडियो, सञ्चारविज्ञ तथा प्रसारकको सहभागितामा विविध कार्यक्रमका साथ मनाइएको थियो ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् १९४६ मा राष्ट्रसंघीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोले पाँचै महादेशमा ‘डिजिटल’ प्रसारणमार्फत शैक्षिक सामग्री स्रोतासमक्ष प्रस्तुत गर्ने बताएको छ ।युनेस्कोका अनुसार सञ्चार माध्यमका रुपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धिका साथै निर्णयकर्तालाई सूचना पहुँच सुनिश्चित गर्न तथा रेडियोको उपयोग प्रोत्साहित गर्न एवं विश्वभरकाप्रसारकबीच अन्तरर्राष्ट्रिय सहकार्य सुदृढ तुल्याउनु यो दिवसको उद्देश्य हो ।
मानवसमाजको विविधतालाई उत्सवकारुपमा मनाउने सशक्त माध्यमका रुपमा रेडियोलाई लिइन्छ । लोकतान्त्रिक संवादका लागि रेडियो महत्वपूर्ण मञ्चका रुपमा स्थापित छ । विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रुपमा रेडियो रहेको छ । व्यापक श्रोतासम्म पुग्ने यसको विशिष्ट क्षमताले समाजमा विविधताको अनुभूति निर्माण गर्न, सबै आवाजलाई बोल्ने, प्रतिनिधित्व हुने र सुन्ने अवसर प्रदान गर्ने सार्वजनिक चौतारीका रुपमा रेडियोले काम गरेको छ ।
रेडियो ‘स्टेशन’ले विविध समुदायलाई सेवा पु¥याउँदै विभिन्न कार्यक्रम, दृष्टिकोण र सामग्री प्रस्तुत गर्नुपर्ने तथा आफ्ना संरचना र सञ्चालनमा पनि श्रोताको विविधता प्रतिबिम्बित गर्नुपर्नेमा युनेस्कोले जोड दिएको छ । कम लागतमा सञ्चालन गर्न सकिने माध्यम भएकाले रेडियो दुर्गमक्षेत्र तथा जोखिममा रहेका समुदायसम्म पुग्न विशेष रेडियो उपयुक्त मानिन्छ । यसले शैक्षिकस्तरको भेदभाव नगरी सार्वजनिक बहसमा सहभागी हुन समान अवसर प्रदान गर्दछ । आपतकालीन सूचनाप्रवाह र विपद् उद्दारका सन्दर्भमा समेत रेडियोको भूमिका महत्वपूर्ण छ ।







