लागूऔषधमुक्त समाजका लागि मनहरीमा अभियान

साझाकुरा
२०८२ फाल्गुन २, शनिबार १०:१७

हेटौंडा- लागूऔषधमुक्त समाजका लागि ३ महिने अभियानअन्तर्गत मनहरी गाउँपालिकामा प्रभावकारी कार्यक्रमको श्रृंखला सम्पन्न गरिएको छ ।अभियानको प्रमुख कार्यक्रमकारुपमा आयोजना गरिएको पालिकास्तरीय समन्वय तथा अन्तरक्रिया बैठक गाउँपालिकाको अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाप्रमुख, सुरक्षा निकाय तथा सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकले लागूऔषध नियन्त्रणलाई स्थानीय तहको साझा जिम्मेवारीका रुपमा स्थापित गर्दै लागूऔषध नियन्त्रण मार्गदर्शन २०७६ बमोजिम पालिका स्तरीय समन्वय समिति शीघ्र गठन गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष कालाखेतीले मनहरीलाई लागूऔषध दुव्र्यसनको जोखिमबाट सुरक्षित राख्न दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गरे ।

बजेट विनियोजन, युवा लक्षित कार्यक्रम, विद्यालय सचेतना, पुनस्र्थापना सहकार्य तथा जनअभियान विस्तारमा गाउँपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । अभियानअन्तर्गत मनहरीका भोजसिद्ध माविमा विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गरिएका छन् । कार्यक्रममा लागूऔषधको शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक असर, कानुनी परिणाम, जीवन सीप विकास तथा सकारात्मक जीवनदृष्टि सम्बन्धी प्रशिक्षणमूलक अन्तरक्रिया गरिएको थियो ।

शिक्षक, अभिभावक, रिकभरिङ नेपाल बागमती प्रदेशका प्रतिनिधि तथा सिआन पुनस्र्थापना केन्द्रका परामर्शदाताको सहभागिताले कार्यक्रमलाई प्रभावकारी बनाएको थियो । समुदायस्तरमा सन्देश प्रवाहलाई सुदृढ बनाउन गाउँपालिकाको मुख्यचोक, सार्वजनिकस्थल तथा बजारक्षेत्रमा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ । विद्यालय बाहिर धूम्रपान निषेधितक्षेत्र जनाउने बोर्ड राखिनुका साथै सन्देशमूलक पर्चा तथा जनचेतनामूलक सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको छ ।

मनहरी गाउँपालिकामा सञ्चालन भएका कार्यक्रमले लागूऔषधविरुद्धको अभियानलाई जनस्तरदेखि नीतिगत तहसम्म जोड्दै सामाजिक उत्तरदायित्व, सहकार्य र सचेतनाको सशक्त वातावरण निर्माण गरेको सरोकारवालाले बताएका छन् । लागूऔषध दुव्र्यसन न्यूनीकरणलाई संस्थागत, समुदायमुखी र परिणाममुखी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनस्र्थापना केन्द्रको व्यवस्थापनमा अभियान सञ्चालन भइरहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*