कांग्रेसको हेटौंडा–४ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

साझाकुरा
२०८२ फाल्गुन ५, मंगलवार १५:२८

हेटौंडा- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले हेटौंडा–४ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमका बीच कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेकी हुन् । हेटौंडा–४ स्थित हुप्रचौरको दक्षिण तर्फको एक घरमा ४ नम्बर वडाको निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार डीनाले अहिले गाउँसहर सबैतिर कांग्रेसको पक्षमा राम्रो माहौल सृजना भएको बताइन् । ‘विशेष महाधिवेशन पश्चात कांग्रेस बदलिएको छ । बदीलएको कांग्रेसले देश बदल्ने योजनासहित अहिले निर्वाचनमा होमिएको छ’, उनले भनिन्, ‘अहिले कहिँकतै गठबन्धन छैन । कांग्रेसले कांग्रेसलाई मत दिन पाउने अवस्था भएको छ ।’

डीनाले आफू निर्वाचनमा पराजय भएपनि मकवानपुरको विकास र समृद्धिका लागि निरन्तर लागिपरेको दावी गरिन् । जनताबाटै अनुमोदित भएर जनताकै काम गर्नका लागि पुनः प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेर आएको उपाध्यायको भनाई थियो । नेपाली कांग्रेस हेटौंडा–४ नम्बर वडासभापति हरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, कांग्रेस बागमती प्रदेश सदस्य प्रदीप कोइराला, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीसहितका नेताको आतिथ्यता रहेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*