‘२०४६ पछिका सबै काण्डको छानबीन हुन्छ’
हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते मतक्रान्ति गर्नुपर्ने बताएका छन् ।सोमबार साँझ हेटौंडामा भएको परिवर्तनको उद्घोषसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपाली जनताले विगतमा मतदान धेरै गरिसकेकोले अब मतक्रान्ति गर्नुपर्ने जिकिर गरेका छन् । निर्धारित समयभन्दा झण्डै साढे ३ घण्टा ढिलो कार्यक्रममा उपस्थित भएका उनले लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण कुरा मतदान भएको बताए । चुनाव सार्न खोज्ने पक्षतर्फ लक्षित गर्दै उनले २–४ दिननजिक चुनाव सार्न समेत व्यङग्य गरे । चुनावको परिणामरास्वपालाई स्वीकार्य रहेको उनको भनाई छ । सभापति लामिछानले लोकतन्त्रको महान उत्सवमा सहभागी हुन राजनीतिक दलहरुलाई आह्वान गरे ।
उनले भने, ‘लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण कुरा जनताको मत हो । जनता अहिले मत हाल्न तयार छन् । कुनैपनि दलले निहुँ खोज्ने काम गर्नु हुँदैन रास्वपाले जस्तो मत परिणाम आएपनि स्वीकार गर्छ । एक नम्बर बनाए एक नम्बर,जिरो नम्बर बनाए जिरो नम्बर, हामीलाई स्वीकार्य छ ।’ आपूmहरुसँग निहुँ नखोज्न उनले दलहरुलाई चेतावनी दिए । सभापति लामिछानले आफ्नो संगठन, एजेण्डाप्रति विश्वास भए शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन दलहरुलाई आग्रह गरे । जनता जिताउने युगलाई सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।
सभापति लामिछानले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए कानुनी राज्य स्थापना गर्ने बताए । अकाट्य प्रमाणलाई रास्वपाले एआई नभन्ने उनले टिप्पणी गरे । सभापति लामिछानेले २०४६ सालपछिका सम्पूर्ण काण्डको छानबीन निष्पक्ष ढंगले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । देशलाई कंगाल बनाएर विदेशमा लुकाइएका सम्पूर्ण सम्पत्तिको छानबीन गर्ने उनले दाबी गरे । सभापति लामिछानेले कुनै राजनीतिक दलप्रति पनि प्रतिशोध नराख्ने बताए । उनले आफ्नो दलको सरकार बनेको खण्डमा राम्रो काम गर्ने डराउन नपर्ने बताए । ‘जसले बिराएको छैन, उसले डराउनु पर्दैन,’ उनले भने, ‘जसले बिराएको छ, त्यसलाई हामी छोड्दैनौँ । किनकी सुशासन हाम्रो पहिलो प्राथमिकता हो ।’
सभापति लामिछानेले आगामी दिनमा शिक्षकलाई राजनीतिक दलको भोट बैंक बन्न नदिने स्पष्ट पारे । उनले संगठनको नाममा भोट बैंक बनाउने प्रवृत्तिको अन्त्य गर्ने दावी गरे । शिक्षाक्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्ने बताउँदै उनले शिक्षानीति विद्यार्थीको हितमा बन्नुपर्ने प्रष्ट पारे । त्यो जिम्मेवारीरास्वपा सरकारले लिने उनको भनाइ थियो ।‘देशमा भएका ठूला भष्ट्राचारको फाइल खोल्न रास्वपाको सरकार बन्नुपर्छ,’ उनले भने, ‘त्यसकारण निर्णय र फैसला गर्ने दिन फागुन २१ गते नै हो । तपाईंहरुले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्न हो । रास्वपा सरकारले निष्पक्षरुपमा छानबीन गर्छ ।’
यस्तै लामिछानेले आफ्नो पार्टीको सरकार बनेपछि किसानलाई मल, बीउ र बजारको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए । सम्बोधनका क्रममा सभापति लामिछानेले हेटौंडा सिमेन्ट उद्योगको सन्दर्भ उठाउँदै उद्योगलाई राजनीतिक भर्तीकेन्द्र बनाइँदा समस्या भएको जिकिर गरे । ‘योग्य र क्षमतावान नेतृत्व आए उद्योग नाफामा जान्छन्,’ उनले भने । मागेर धनी हुने सपना आफूहरुले नदेखेको भन्दै उनले ‘गरेर खाने देश’ बनाउनका लागि सि·ो रास्वपा लागिपरेको दावी गरे । यसका लागि उनले रास्वपाको चुनावचिह्न घण्टीमा मतदान गर्न आग्रह गरे । सभामा सभापति लामिछानेले किसान, शिक्षक, विद्यार्थीको समस्या समाधान गर्न ५ वर्षसम्म स्थायी सरकार बनाउने मौका दिन अपिल गरे ।
कार्यक्रममा पार्टीका सहप्रवक्ता रमेश प्रसाईंले वर्तमान निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको धरौटी जफत हुने दाबी गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी कुशासनविरुद्ध दृढरुपमा उभिएको बताए । सभामा उनले अब भ्रष्ट्राचार र कुशासनको सटर बन्द हुने बताए । संसद, सिंहदरबार, अदालत जल्नु दुःखद भएपनि भदौ २३ गते सरकारले दमन गरेकोकारण त्यो घटना हुन पुगेको उनको जिकिर थियो । पार्टी सभापतिले भ्रष्टचारका फाइलहरु खोल्दा कांग्रेस, एमालेले सहकारीको झुट्टा मुद्दामा फसाएको आरोप लगाए । सहकारी ठगीमा लामिछानेको आरोप पुष्टि भए समानुपातिकको पहिलो नम्बर त्यागेर एमाले प्रवेश गर्ने प्रसाईले बताए । आफ्नै कार्यकर्ता प्रयोग गरेर आफ्नै पार्टीको झण्डा जलाएर रास्वपा प्रति आरोप लगाएको उनले उल्लेख गरे ।
सभामा मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार प्रकाश गौतम र क्षेत्र नम्बर–२ का उम्मेदवार प्रशान्त उप्रेतीले आफूहरुलाई मतदान गरेमा स्थानीय नागरिकका विभिन्न समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए । सभामा पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले आउने भनी प्रचार गरिएपनि उनी उपस्थित भएका थिएनन् ।







