मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाउन सुरु

साझाकुरा
२०८२ फाल्गुन १८, सोमबार १३:३९

हेटौंडा- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा जगेडा कर्मचारीलाई अभिमुखीकरण गरी नियुक्तिपत्र वितरण गरेसँगै आइतबारदेखि निर्वाचन सामग्री बुझाउन थालिएको हो । प्रदेश निर्वाचन अधिकारी हरि ढकालका अनुसार निर्वाचनका लागि आवश्यक ५२ प्रकारका सामग्री मतदान अधिकृतलाई उपलब्ध गराइएकोछ । १० वटै स्थानीय तहका मतदानस्थलमा खटिएका कर्मचारीलाई आइतबार र सोमबार सामग्री बुझाइने छ । खटिएका कर्मचारी सोमबार नै मतदानस्थल पुगेर निर्वाचनको पूर्वतयारी थाल्नेछन् ।

‘हामी तयारीको अन्तिम विन्दुमा छौँ । कर्मचारी साथीहरु मतदान सामग्री लिएर केन्द्रतर्फ लाग्ने क्रममा हुनुहुन्छ ।’ उनले भने, ‘आगामी २१ गते मतदातालाई उत्साहपूर्वक सहभागी हुन सकिने छ । निर्वाचन आयोगले फागुन १८ गते राति १२ बजेदेखि मौनअवधि सुरु हुने र यो अवधिमा उम्मेदवार र राजनीतिक दललाई निर्वाचन आचारसंहिता पूर्णपालना गर्नुपर्नेछ । जिल्लास्थित सुरक्षा निकायले सुरक्षाको पूर्णप्रबन्ध मिलाइएको छ । मतदाताले निर्धक्क भएर मतदान केन्द्रमा गएर भोट हाली सुरक्षितरुपमा घर फर्कन सक्ने वातावरण रहेको छ ।’

निर्वाचनको दिन सार्वजनिक सवारीसाधन बन्द रहने भए तापनि हिँडडुल गर्न नसक्ने वृद्ध वृद्धा, अपा·ता भएका व्यक्ति र अशक्त मतदाताका लागि विशेष व्यवस्था गरिने उनले बताए । विगतको अभ्यासलाई पछ्याउँदै मतदान अधिकृतको अनुमति लिएर उनीहरुलाई मतदान केन्द्रसम्म ल्याउने र मतदान गराउने व्यवस्था मिलाइने उनको भनाई छ ।मकवानपुरका दुई अस्थायी गरी ३ सय ७६ मतदान केन्द्रमा निर्वाचन गराउन ३ हजार ३ सय ६६ कर्मचारी खटिने भएका छन् । ५ सयसम्म मतदाता भएको मतदान केन्द्रमा ८ जना, ५ सय भन्दा बढी मतदाता भएको केन्द्रमा ९ जना र अस्थायी मतदान केन्द्रमा ५ जना कर्मचारी खटिनेछन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुईवटा रहेको मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता छन् । जसमा क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६ सय २१, महिला ७८ हजार ८ सय १० र अन्य ४ गरी १ लाख ५८ हजार ४ सय ३५ र क्षेत्र नम्बर २ मा ८२ हजार ३ सय ३२ पुरुष, ७४ हजार ५ सय ६६ महिला र १ अन्य गरी १ लाख ५६ हजार ८ सय ९९ मतदाता छन् । यस्तै मकवानपुर क्षेत्र नम्बर १ मा ४० वटा ६२ वटा मतदानस्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर २ मा ६२ वटा वडा, १०५ वटा मतदानस्थल र १९६ वटा मतदान केन्द्र कायम भएको कार्यालयले जनाएको छ । मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल राखिएको छ । भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक÷एक वटा मतदानस्थल रहने प्रदेश निर्वाचन अधिकारी ढकालले बताए । यी मतदानस्थलका लागि मतदाता ३ हजार ३०७ रहेका छन् ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा, हिमालीभेगका दुर्गमबस्तीसम्म पुग्यो सामग्री
प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताएका छन् ।आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । उनकाअनुसार मुलुकका उच्चपहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् । उनले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चारजगतले सकारात्मक भूमिका खेलेका कारण २१ गते निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

ज्वाइन्ट इलेक्सन अब्जर्भेसन कमिटीबाट प्राप्त एसएमएसको जानकारी दिँदै उनले भने, ‘हाम्रो कमिटीले देशभरको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ । अहिले भर्खरै प्राप्त जानकारीअनुसार सबै निर्वाचन व्यवस्थापनका सामग्री उच्चपहाडी, हिमाली जिल्ला र त्यो भन्दा पारिको बस्तीमा पनि पुगिसकेकाछन् । मतदान अधिकृत, मतपत्र र मतदानका लागि आवश्यक सबै सामग्री गन्तव्यमा पुगिसकेकाले अब कुनै पनि काम बाँकी र अधुरो छैन ।’ जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्णरुपमा ढुक्क रहेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*