जन्मदिनको अवसरमा पोशाक सहयोग
हेटौंडा- हेटौंडा–१७ लक्ष्मीपुर घरभई हाल अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेकी रोलिशा श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बहिरा बालबालिकालाई विद्यालय पोशाक सहयोग गरेकी छिन् ।श्रेष्ठले हेटौंडा–६ स्थित शान्ति बहिरा तथा सुस्तश्रवण आवासीय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पोशाक उपलब्ध गराएकी हुन् । अध्ययनरत सबै ३२ जना बालबालिकाको लागि टिसर्ट र टाउजर सेट सहयोग गरिएको विद्यालयले जनाएको छ । पोशाक श्रेष्ठका अभिभावक तथा परिवारका सदस्यमार्फत् बालक्लब अध्यक्ष सबिना जिम्बा तथा शिक्षकशिक्षिकालाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । जन्मदिनलाई सामाजिक कार्यसँग जोड्दै गरिएको यस सहयोगले विद्यालयका बालबालिकालाई राहत मिल्नुका साथै अन्यलाई पनि समाजप्रति जिम्मेवार बन्न प्रेरणा दिने विद्यालयकी प्रधानाध्यापक शर्मिला खतिवडाले बताइन् ।







