हेटौंडा बचतको निर्वाचनमा २८ सय ८७ मत खस्यो

साझाकुरा
२०८२ चैत्र १४, शनिबार १२:२६

हेटौंडा-हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सम्पन्न भएको छ । संस्थाको २५ वर्षे इतिहासमा पहिलोपटक नेतृत्व चयनका लागि निर्वाचन गरिएको हो । कुल ६ हजार ९ सय ९३ मतदाता रहेको संस्थामा शुक्रबार सम्पन्न निर्वाचनमा २ हजार ८ सय ८७ मत खसेको निर्वाचन अधिकृत बीरेन्द्रप्रसाद ढुंगानाले जानकारी दिएका छन् । मतदान प्रक्रिया हेटौंडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो । अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र लेखासमिति संयोजक गरी चार पदका लागि मतदान भएको हो । अन्य पद भने सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्ष पदमा संस्थाका निवर्तमान व्यवस्थापक रामशरण गौतम र पूर्वकर्मचारी राजु वाइबा प्रतिस्पर्धामा छन् ।

पूर्वव्यवस्थापक र कर्मचारी बीचको यो प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ । त्यसैगरी उपाध्यक्ष पदमा खडानन्द चौलागाईं, दीपक अधिकारी र सीताराम प्रधान उम्मेदवार रहेका छन् । कोषाध्यक्ष पदका लागि भीमसेन गौतम र मोनिका पौडेलबीच प्रतिस्पर्धा भइरहेको छ भने लेखासमिति संयोजक पदमा कविन पन्त र विष्णुप्रसाद अर्जेल उम्मेदवार छन् । मतगणना भोलि बिहान ७ बजेदेखि सहकारीको मुख्य कार्यालय, हेटौंडा–७ नागस्वतीमा सुरु गरिने निर्वाचन अधिकृत ढुंगानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*