बालेन सरकारमा बागमतीबाट ५ जना मन्त्री बने

साझाकुरा
२०८२ चैत्र १४, शनिबार १२:२३

हेटौंडा-बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारमा बागमती प्रदेशले महत्वपूर्ण ५ मन्त्रालय पाएको छ ।बालेन क्याबिनेटमा बागमती प्रदेशबाट मात्रै ५ जना मन्त्री नियुक्त भएका हुन् । बालेन क्याविनेटमा मन्त्री बनेका अधिकांश काठमाडौँका रहेका छन् । जसमा काठमाडौँका ३ जना, नुवाकोट र चितवनका १–१ जना रहेका छन् । बालेन क्याविनेटमा विराजभक्त श्रेष्ठ उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् भने शिशिर खनाल परराष्ट्र मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री बनेका छन् । डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् भने सोबिता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।

विषेशगरी काठमाडौँ क्षेत्र नम्बर–५, ६ र ८ बाट ३ जना मन्त्री रहेका छन् भने चितवन–३ र नुवाकोट–१ बाट एक÷एक जना मन्त्री बनेका छन् । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका श्रेष्ठ काठमाडौँ–८ का हुन् भने परराष्ट्र मन्त्री बनेका खनाल काठमाडौँ–६ का हुन् । काठमाडौँ–५ का पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री बनेका छन् भने नुवाकोट–१ का डा.तिमल्सिना संचार तथा सूचना प्रविधि मन्त्री बनेका छन् । चितवन–३ की गौतम कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छिन् ।

काठमाडौँ–५ बाट ‘हेभीवेट’ नेताहरु एमालेका ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेललाई पराजित गर्दै सस्मितले संसदको यात्रा तय गरेका हुन् । काठमाडौँ महानगरपालिकामा बालेनको शिक्षा सल्लाहकार र विज्ञकारुपमा काम गरिसकेका पोखरेलले महानगरको छात्रवृत्ति प्रणालीमा क्रान्तिकारी सुधार गरेका थिए । यसअघि १९ दिन शिक्षामन्त्री बनेका खनाल यसपटक परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा फर्किएका छन् । अमेरिकाबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनाल रास्वपाको अन्तर्राष्ट्रिय विभागप्रमुख समेत हुन् । कूटनीतिक र आर्थिक क्षेत्रमा दखल राख्ने खनालले नेपालको विदेश नीतिलाई आधुनिक र सन्तुलित बनाउने अपेक्षा गरिएको छ ।

पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाश शरण महतलाई उनकै गृहजिल्ला नुवाकोटमा पराजित गरेर डा. तिमल्सिना चर्चामा आएका हुन् । अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि (पीएडी) गरेका उनीसँग सञ्चारक्षेत्रको १५ वर्ष लामो अनुभव छ । उनले सञ्चार मन्त्रालयमा नीतिगत र प्राविधिक सुधार गर्ने लक्ष्य राखेका छन् । काठमाडौँ–८ बाट पुनः निर्वाचित श्रेष्ठ दुईवर्षको अन्तरालमा दोस्रोपटक मन्त्री बनेका हुन् । यसअघि खेलकुद मन्त्रीकारुपमा सफल कार्यकाल बिताएका उनी ‘तथ्यांक र तर्क’ मा आधारित राजनीतिको पक्षपाती मानिन्छन् ।

सम्पदा संरक्षण र वातावरण अभियन्ताकारुपमा चिनिने उनलाई यसपटक विकासको मेरुदण्ड मानिने उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । चितवन–३ मा रेणु दाहाललाई भारी मतान्तरले पराजित गरेकी सोबिता गौतम नयाँ सरकारको कानुनी कमाण्डर बनेकी छिन् । सुशासन र नागरिक अधिकारका मुद्दामा खरो उत्रिने गौतमले नेपालको कानुनी संरचनालाई नागरिकमैत्रीर आधुनिक बनाउने प्राथमिकताराखेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*