एकीकृत घुम्ती शिविरबाट राक्सीराङका स्थानीयलाई सहज
हेटौंडा- मकवानपुरको विकट राक्सीराङ गाउँपालिकामा जारी बृहत एकीकृत घुम्ती शिविरले स्थानीयबासीलाई सहज भएको छ ।‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारालाई आत्मसात् गर्दै गाउँपालिकाले आफ्नो सेवाप्रवाहलाई गाउँगाउँसम्म पु¥याएको हो । चैत ११ गतेदेखि सुरु भएको शिविर चैत २० गतेसम्म पालिकाको ४ स्थानमा सञ्चालन हुनेछ । १६ गतेराक्सिराङ–९ कान्द्राङमा प्रमुख जिल्ला अधिकारी, गाउँपालिका प्रमुख, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका पञ्चिकरण शाखानिर्देशकसहितको टोलीले नागरिकताका साथै राष्ट्रिय परिचयपत्र वितरण गरेको हो । ३० जनालाई नागरिकता प्रमाणपत्र तथा एक हजार भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो । पालिकाको अधिकांशक्षेत्र विकट रहेकोले नागरिकता बनाउनका लागि हेटौंडा आउन चेपाङ समुदायलाई समस्या हुने गरेको थियो ।
भौगोलिक कठिनाइ, आर्थिक अभावलगायतका कारण हेटौंडासम्म पुग्न दुईतीन दिन लाग्ने बाध्यता रहेका स्थानीयका लागि यस्तो शिविर राज्यको प्रतयक्ष उपस्थितिको अनुभूति बनेको छ । शिविरमार्फत् नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र कार्ड वितरण, अपा·ता परिचयपत्र, स्वास्थ्यपरीक्षण, पशुस्वास्थ्य सेवा, कृषिविकास कार्यक्रम, औषधि तथा बीउ वितरण, कृषिऔजार हस्तान्तरण, सुत्केरीका लागि पौष्टिकआहार वितरण, बेरोजगार सूचीकरणलगायत सेवा एकै स्थानबाट प्रदान गरिएको छ । शिविरसम्म पुग्न नसक्नेको लागि पालिकाले घरघरमा गएर सेवाप्रवाह गरेको छ । राक्सिराङ–४ की ५० वर्षीया सुन्तली परियारले पनि घरमै नागरिकता पाउँदा भावुक हुँदै खुसी व्यक्त गरिन् । आठ सन्तानकी आमा परियार दुई वर्षअघि श्रीमान् गुमाएपछि एकल जीवन बिताउँदै आएकी छिन् ।
नागरिकता अभावमा सामाजिक सुरक्षा भत्ता समेत नपाएको उनलाई प्रमुख जिल्ला अधिकारी सहितको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो । यस्तै, राष्ट्रिय पञ्जिकरण विभागका पञ्जिकरण शाखाका निर्देशक सानुबाबु अधिकारीसहितको टोलीले एक हजार भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको हो । यसअघि नै विवरण संकलन गराएका तर, परिचयपत्र लिन धाएरै जानुपर्ने अवस्थालाई हेरेर पहिलोपटक राक्सिरा गाउँपालिकामा परिचयपत्र कार्ड वितरण गरिएको हो । शिविरमार्फत् ३० जनालाई नागरिकता र एक हजारलाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको मकवानपुरका प्रजिअ बसन्त अधिकारीले बताए ।
नागरिकलाई सहजरुपमा सेवा सुविधा उपलब्ध गराउनु नै राज्य भएको महसुश दिनु भएको प्रजिअ अधिकारीले बताए । नागरिकको मुहारमा खुशी ल्याउनका लागिराष्ट्रसेवक कर्मचारी खटिनुपर्नेमा उनको जोड थियो । देशकै छैठौं गरिबीको सूचकमा पर्ने यस गाउँपालिकामा सामान्य नागरिक पालिकासम्म सेवालिन आउन नसक्ने अवस्था रहेकाले स्थानीय सरकारले आफैं गाउँसम्म पुग्ने रणनीति अवलम्बन गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित सबै सेवा एकैठाउँमा उपलब्ध गराइएको अध्यक्ष मल्लले बताए । सेवाप्रवाहसँगै विकास योजना निर्माण प्रक्रियालाई पनि जनतासँग जोड्ने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै, पालिकामा रहेका ८० वर्षभन्दा माथिका ज्येष्ठनागरिकलाई स्वास्थ्यजाँचका साथै सम्मानस्वरुप पौष्टिक आहार, झुल र छाता समेत वितरण गरिएको छ । चैत ११ गतेदेखि सुरु भएको वृहत् सेवाप्रवाह शिविर चैत २० गतेसम्म पालिकाका विभिन्न स्थानमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । चैत ११ गते राक्सिराङ–२ कुडुले, चैत्र १६ गते कान्द्राङमा शिविर आयोजना भैसकेको छ भने चैत्र १८ गते राक्सिराङ–८ पाम्बुङ र चैत्र २० गते राक्सिराङ–७ स्थित श्री आधारभूत विद्यालयमा वृहत् शिविर आयोजना हुने पालिकाले जनाएको छ ।







