प्रहरी र नागरिकबीचको सम्बन्ध सुधारमा जोड
हेटौंडा- भीमफेदी गाउँपालिकामा सुरक्षा निकाय र स्थानीय नागरिकबीच प्रत्यक्ष संवाद गर्ने उद्देश्यका साथ नागरिक सुनुवाई कार्यक्रम भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा भीमफेदीमा कार्यक्रम आयोजना गरिएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्त श्रेष्ठको अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा भीमफेदी क्षेत्रका सक्रिय राजनीतिक दलका प्रतिनिधि, उत्साहजनक संख्यामा युवावर्ग, स्थानीय व्यापारी, बुद्धिजीवी, सञ्चारकर्मी, शिक्षक, किसान तथा महिला अधिकारकर्मीको सहभागिता रहेको थियो ।
सहभागी स्थानीयले भीमफेदीको शान्तिसुरक्षा, ट्राफिक व्यवस्थापन र प्रहरीसेवाका बारेमा जिज्ञासा र गुनासा राखेका थिए । प्रमुखअतिथि प्रहरीउपरीक्षक खत्रीले नागरिक र प्रहरी एकअर्काका परिपूरक भएको बताएका छन् । उनले अपराध नियन्त्रण र समाजमा शान्ति स्थापनाका लागि नागरिकको सूचना र सहयोग अपरिहार्य रहेको चर्चा गरेका थिए । इलाका प्रहरी कार्यालय भीमफेदीका ईन्चार्ज श्रेष्ठले नागरिकबाट आएका सुझावलाई आत्मसाथ गर्दै प्रहरी सेवालाई अझ बढी पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमले भीमफेदीमा सुरक्षा निकाय र स्थानीय समुदाय बीचको दुरी कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीयले लिएका छन् । कार्यक्रममा सुरक्षा निकाय र स्थानीय प्रशासनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।







