२०८३ सालको भित्तेपात्रो विमोचन
हेटौंडा-मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरले प्रकाशन गरेको २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । फाउन्डेसनको कार्यालयमा आयोजित एक कार्यक्रममा भित्तेपात्रो विमोचन गरिएको हो । फाउन्डेसनका जिल्ला अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुखअतिथि पौडेलले फाउन्डेसनले समाजमा सकारात्मक सन्देशप्रवाह गर्दै विभिन्न रचनात्मक कार्य गर्दै आएको बताए । आगामी दिनमा यस्ता गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने धारण उनले राखे । उनले फाउन्डेसनले नियमित रुपमा गर्दै आएको रचनात्मक कार्यका लागि धन्यवाद दिए ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य गोपालबहादुर श्रेष्ठ, गणेशकुमारी श्रेष्ठ र भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिका–४ का वडाअध्यक्ष नवीन सिग्देल, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायतको उपस्थिति थियो । भित्तेपात्रोमा फाउन्डेसनले वर्षभरि सञ्चालन गरेका विभिन्न सामाजिक, शैक्षिक तथा जनचेतनामूलक गतिविधिका तस्बिर समेटिएको छ ।







