राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका सम्बन्धमा छलफल
हेटौंडा-राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका सम्बन्धमा सरोकारवाला निकायबीच अन्तरक्रिया तथा छलफल गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा बुधबार आयोजित कार्यक्रममा आर्थिक गणना समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षता एवम् मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको प्रमुखअतिथ्यता रहेको थियो । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि मकवानपुरमा कुल ६८ जना जनशक्ति परिचालन गरिने भएको छ । आर्थिक गणना कार्यालयका रुद्र बोगटीका अनुसार ९ जना सुपरभाइजरसहित ५९ जना गणक खटिनेछन् ।
कार्यक्रममा उनले आर्थिक गणनाको आवश्यकता, उद्देश्य तथा समेटिने क्षेत्रबारे प्रस्तुतीकरण दिए । स्थानीय तहअनुसार हेटौंडा उपमहानगरमा सबैभन्दा बढी ३२ गणक परिचालन गरिनेछ । नेपालमा वि.सं २०७५ मा पहिलोपटक सुरु गरिएको आर्थिक गणना यसवर्ष दोस्रोपटक हुन लागेको हो । कार्यक्रममा प्रजिअ अधिकारीले संकलित तथ्यांक पूर्ण रुपमा गोप्य राखिने र कुनैपनि व्यक्तिको विवरण प्रमाणकारुपमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेको जानकारी दिँदै निर्धक्करुपमा सही विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।
राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग व्यवसायको स्थिति, लगानीको प्रवृत्ति तथा रोजगारीको यथार्थ तथ्यांक उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ । यसले नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । नाङ्लोमा पसल राख्ने साना व्यवसायदेखि ठूला उद्योग प्रतिष्ठानसम्म सबै प्रकारका औपचारिक तथा अनौपचारिक आर्थिक गतिविधि गणनामा समेटिनेछन् । दर्ता भएका वा नभएका, आर्थिक कारोबार गर्ने सबै प्रकारका व्यवसायको विवरण संकलन गरिने जनाइएको छ ।
आर्थिक गणनाको मुख्य उद्देश्य देशभर सञ्चालनमा रहेका आर्थिक गतिविधिको आधारभूत विवरण संकलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गर्नुका साथै कुलगार्हस्थ उत्पादन तथा राष्ट्रिय लेखाप्रणालीलाई सुदृढ बनाउन आवश्यक तथ्यांक उत्पादन गर्नु रहेको छ । यसअघि वि.सं २०७५ मा गरिएको गणना अनुसार मकवानपुरमा १६ हजार प्रतिष्ठान तथा व्यवसाय दर्ता भएका थिए, जसमा ४६ हजार ५८२ जनशक्ति कार्यरत थिए । तीमध्ये ७ हजार ५९६ मात्रै औपचारिकरुपमा दर्ता भएको पाइएको थियो । अन्तरक्रियामा सहभागीले राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
विभिन्न १८ वटा समूहका आर्थिक एकाइ एकैपटक समेटिने गरी गणना गरिने जनाइएको छ । सरकारले २०७५ सालमा पहिलो राष्ट्रिय आर्थिक गणना सम्पन्न गरेको थियो । तथ्यांकमा देशैभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान÷ व्यवसाय गणना गरिएका र ती प्रतिष्ठानमा जम्मा ३२ लाख २८ हजार ४५७ मानिस संलग्न रहेका पाइएको थियो । प्रतिष्ठान÷व्यवसायमा करिब ३० प्रतिशत महिला व्यवस्थापक रहेका विवरण सार्वजनिक भएका थिए भने गणनाले औपचारिक र अनौपचारिक प्रतिष्ठानको संख्या बराबरी जस्तो रहेको देखाएको थियो ।
देशको अर्थतन्त्रको आकार तयगर्ने प्रयोजनका लागि समग्र आर्थिक क्रियाकलापलाई अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण अनुसार २१ भागमा विभाजन गरी ती क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदान मापन हुँदै आएको छ । राष्ट्रिय आर्थिक गणनामा ती २१ वटा वर्गीकरणमध्ये विभिन्न १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिनेछ । गणनामा देशैभर रहेका दर्ता भएका÷नभएका ठूला वा साना व्यापार÷प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार मात्रै भएका, उद्योग, कलकारखाना, व्यापार व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल आदि आर्थिक क्रियाकलाप गरिरहेका एकाइमा गणना सञ्चालन गरिनेछ ।यद्यपि अन्तर्राष्ट्रिय संघ संस्था, कूटनीतिक नियोग, प्रशासनिक क्रियाकलाप र नियमनकारी कार्य गर्ने सरकारी कार्यालय, सुरक्षा निकाय, सामान्य घरायसी क्रियाकलाप गरिने कार्य र क्षेत्र भने यो गणनामा समेटिने छैन ।







