एसईई परीक्षा सुरु पाँच हजार दुईसय ७७ सहभागी, ८१ परीक्षार्थी अनुपस्थित:
हेटौंडा-एसईई परीक्षाको पहिलो दिन मकवानपुरमा अंग्रेजी विषयको परीक्षामा साधारणतर्फ पाँच हजार दुईसय ७७ विद्यार्थी सहभागी भएका छन् । अंग्रेजी विषयको पहिलो दिनको परीक्षामा ८१ जना विद्यार्थी अनुपस्थित रहे । यस्तै प्राविधिकतर्फ एकसय ७९ जना विद्यार्थी सहभागी रहेभने चारजना विद्यार्थीले परीक्षामा सहभागिता जनाएनन् । यस्तै ग्रेडबृद्धीतर्फ १९७ परीक्षार्थीले सहभागिता जनाए भने ३६ परीक्षार्थी अनुपस्थित रहे । मकवानपुरमा सातहजार एकसय ९२ विद्यार्थीले परीक्षा फारम भरेका थिए । एकसय ५ सामुदायिक र ३७ वटा संस्थागत विद्यालयका विद्यार्थीले परीक्षा फारम भरी एसइई परीक्षामा सहभागिता जनाएका थिए ।
मकवानपुरमा २८ वटा विद्यालयमा परीक्षाकेन्द्र तोकीएको जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख सुदीप गिरीले बताए । सरकारले यसवर्ष बैशाख महिनामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेपछि मकवानपुरका २० वटा परीक्षा केन्द्रले आज बिहीबार परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका परीक्षणको ब्यवस्था मिलाएका छन् । अन्य केन्द्रले पनि छिट्टै परीक्षण गर्ने तयारी गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन् ।
कैलाशका २२४ जना विद्यार्थीले दिए एसईइ परीक्षा मकवानपुरको कैलाश गाउँपालिकाको २२४ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईइ) परीक्षा दिएका छन् । नियमित र ग्रेडवृद्धि गरी २२४ जनाले परीक्षा दिएको गाउँपालिका शिक्षा शाखाप्रमुख समीर जोशीले बताए । विहीबारबाट सुरु भएको कैलाशका ६ वटा माध्यमिक विद्यालयमध्ये कालिका माविका विद्यार्थीले भूटनदेवी परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् भने अन्य पाँच माविका विद्यार्थीले कैलाश–९ मा रहेको कालिका मावि परीक्षा केन्द्रबाट परीक्षा दिएको जोशीले बताए । कालिका माविलाई गतवर्षबाट कैलाश गाउँपालिकामा परीक्षा केन्द्र तोकिएको थियो ।
पालिकाभित्र अध्ययनरत विद्यार्थी मनहरी, थाहा र हेटौंडा पुगेर परीक्षा दिनुपर्ने बाध्यतालाई अन्त्य गर्दै गतवर्षबाट पालिकामै परीक्षा केन्द्र कायम गरिएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । ‘भौगोलिक विकटताले केन्द्र आउन जान असज हुनाले हामीले परीक्षा दिने विद्यार्थीका लागि परीक्षा केन्द्र परिसरमै खाना र आवासको व्यवस्था गरेका छौं’ अध्यक्ष मुक्तानले भने । कैलाशका ६ वटा विद्यालयबाट नियमिततर्फ एसईई परीक्षामा एक सय ४९ जना विद्यार्थीले परीक्षा दिएका छन् भने ग्रेडवृद्धिका लागि ७५ जना विद्यार्थी रहेको शाखा प्रमुख जोशीले बताए ।
कैलाशको कमलादेवी माविबाट नियमिततर्फ १५ जना, ग्रेडवृद्धितर्फ ५ जना, भवानी माविबाट नियमिततर्फ ३२ जना, ग्रेडवृद्धितर्फ १९ जना, व्यास माविबाट नियमिततर्फ ३७ जना, ग्रेडवृद्धितर्फ २३ जना रहेका छन् । यस्तै धुवाङ माविबाट नियमितर्फ १० जना, ग्रेडवृद्धितर्फ ५ जना, रत्नज्योति माविबाट नियमिततर्फ २१ जना र ग्रेडवृद्धितर्फ ११, कालिका माविबाट नियमिततर्फ ३४ जना, ग्रेडवृद्धितर्फ १२ जनाले परीक्षा दिएका छन् कालिका माविका विद्यार्थीले भने हेटौंडा–४ स्थित भुटनदेवी माविबाट परीक्षा दिएका छन् । कैलाशका नियमिततर्फ १४९ जना र ग्रेडवृद्धितर्फ ७५ जना गरी २२४ जना विद्यार्थीले परीक्षा दिएको जोशीले बताए । जसमा कालिका मावि परीक्षा केन्द्रमा नियमिततर्फ ११५ जना र ग्रेडवृद्धितर्फ ६३ जना गरी १७८ जनाले परीक्षा दिएका छन् ।







