हेटौंडा सिमेन्ट आर्थिक संकटमा

साझाकुरा
२०८२ चैत्र २०, शुक्रबार १३:१७

हेटौंडा- सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लामो समयदेखि चरम आर्थिक संकटमा गुज्रिरहेको छ । उद्योग संचालनको सम्भावना नदेखिएपछि उद्योग ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले यसैसाता अध्यक्ष पदबाट राजिनामा दिएका थिए । उद्योग प्रशासनका अनुसार चालू आर्थिक वर्षमा गत भदौ १९ देखि २४ गतेसम्म जम्मा पाँच दिन मात्रै उद्योग सञ्चालनमा आयो । यसअवधिमा करिब दुई हजार पाँचसय मेट्रिकटन क्लिंकर र करिब ६० हजार बोरा सिमेन्ट उत्पादन भएको थियो । अहिले उद्योगमा करिब १२ हजार बोरा सिमेन्ट मौज्दात रहेको उद्योगका सूचना अधिकारी हरेराम आचार्यले जानकारी दिए । उद्योगले चैत्र १३ गते पुनः क्लिंकर उत्पादन प्रक्रिया सुरु गरेको छ । तर, कोइलाको मौज्दात भने सात–आठ दिनलाई मात्र पुग्ने छ । थप कोइलाको व्यवस्था गर्न प्रक्रिया सुरु भइसकेको उद्योगका सहायक प्रबन्धनिर्देशक भक्तिराम श्रेष्ठले बताए ।

उनका अनुसार गत फागुनमै तीन हजार मेट्रिकटन कोइला खरिदका लागि टेन्डर गरिएको र कोइला आउने क्रममा छ । थप ६५ सय मेट्रिकटन कोइला ल्याउन टेन्डर प्रक्रिया सुरु भइसकेको छ । कोइला ल्याउने प्रक्रिया सम्झौताको चरणमै रहेकाले कोइला आउने आसमा उद्योग सञ्चालन गरिएको श्रेष्ठले बताए । उद्योग अहिले करिब एक अर्ब ३६ करोड रुपैयाँ दायित्वमा डुबेको छ । यसमा कर्मचारीको तलब–भत्ता, अवकाशप्राप्त कर्मचारीको बक्यौता, सरकारलाई तिर्नुपर्ने कर तथा दस्तुर, कोइला र ढुवानीखर्च, चुनढुंगा ढुवानी तथा दैनिक ज्यालादारी मजदुरको भुक्तानीलगायत समावेश छन् । उद्योगमा कार्यरत एक सय ३६ स्थायी कर्मचारीले करिब १० महिनादेखि तलब पाएका छैनन् । यसबाहेक ज्यालादारी र करारका कर्मचारी पनि छन् ।

उद्योग सञ्चालनका लागि चैत १२ गतेपछि दैनिक ज्यालादारीमा थप ५० जना कामदार नियुक्त गरिएको सूचना अधिकारी आचार्य बताउँछन् । उद्योगका सहायक प्रबन्धनिर्देशक श्रेष्ठका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक कच्चापदार्थ खरिद गर्न र बिग्रिएका मेसिनका पाटपुर्जा मर्मत गर्नसमेत रकम अभाव छ । तत्काल उद्योग सञ्चालन गर्न र खर्चसमेत उठ्न नसक्ने अवस्था आएपछि नयाँ प्रविधिको प्लान्ट जडान गर्न एक अर्ब ६० करोडको प्रस्ताव यसअघि नै उद्योग मन्त्रालयमा पठाइएको उनले बताए ।

दुई हजार आठ सयदेखि तीन हजार मेट्रिकटन दैनिक उत्पादन क्षमताको आधुनिक प्लान्ट जडान नगरेसम्म उद्योग दीर्घकालीनरुपमा टिक्न कठिन हुने उनको भनाइ छ । ‘तीनचार वर्षअघि मात्र पनि दैनिक सवा करोडको कारोबार गर्दै आएको उद्योग सञ्चालन गर्न सकिँदैन भन्ने होइन,’ उनले भने, ‘समयानुकूल उद्योगका मेसिन परिवर्तन हुनुप¥यो, उत्पादन लागत कसरी घटाउने भन्नेतर्फ सबैको ध्यान जानुप¥यो, त्यसो भयो भने उद्योग फेरि पनि चलाउन सकिन्छ ।’

उद्योगको अनुगमनमा प्रशासन

विगत १० महिनादेखि कर्मचारीले तलब नपाएको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोलीले उद्योगको अनुगमन गरेको छ । अनुगमनमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, हेटौंडा उपमहानगरपालिकाका प्रशासकीय प्रमुख भरत गौतम तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्री सहभागी थिए । कर्मचारीले लामो समयदेखि बिनातलब काम गरिरहनुपरेको र उद्योग जोगाउने उद्देश्यले ‘भोको पेटमा’ काम जारी राखेको बताएका छन् ।उद्योगका सहायक प्रबन्धक श्रेष्ठका अनुसार हाल उद्योगमा १ सय ३६ जना कर्मचारी कार्यरत छन् भने करिब २ सय ५३ कर्मचारीले असार महिनादेखि तलब पाउन सकेका छैनन् ।

उनले आफू ३५ वर्षदेखि उद्योगमा कार्यरत रहेको उल्लेख गर्दै लामो समयको सेवापछि पनि तलब नपाउनु दुःखद भएको बताए । उद्योगमा उत्पादित सिमेन्ट बिक्री भएर पनि कतिपय स्थानबाट रकम उठ्न बाँकी रहेको र हाल पुराना सिमेन्टको प्याकिङ कार्य भइरहेको जनाइएको छ ।अनुगमनपछि प्रजिअ अधिकारीले कर्मचारीलाई कामप्रति प्रतिबद्ध रहन आग्रह गरे । उनले उद्योगमा अब कडा निगरानी राखिने र नियमित सञ्चालनमा ल्याउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरे । विसं २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको यो उद्योगले विसं २०४३ सालदेखि ब्यावसायिकरुपमा सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*