हेटौंडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

साझाकुरा
२०८२ चैत्र १९, बिहीबार १३:२५

हेटौंडा- हेटौंडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएपछि उत्पादन रोकिएकोमा उपकरणको मर्मत गरी सिमेन्ट पुनः उत्पादन सुरु गरिएको उद्योग व्यवस्थापनले जनाएको छ ।उद्योग व्यवस्थापनले गत चैत १४ गते करिब सात महिनापछि सिमेन्ट उत्पादन सुरु गरेको थियो । त्यसको भोलिपल्ट चैत १५ गते अपराह्न आगो बाल्ने भट्टी (कोलमिल) को केही उपकरण बिग्रिएपछि भट्टी बन्द गर्नुपरेको थियो ।उद्योगको कोलमिलमा गएराति कोइला ढुवानी गरी आगो बालिएको थियो । सिमेन्टको धुलो उत्पादन गर्ने क्लिंकर उत्पादन कार्य सुरु गरिएको जनाइएको छ । उद्योगमा सिमेन्ट उत्पादन नियमित गर्न आगामी दुई महिनासम्म पुग्ने कोइला जगेडामा राखिएको छ ।

बाँकी आवश्यक कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको हेटौंडा सिमेन्ट उद्योग प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले जानकारी दिए । उनकाअनुसार आवश्यक कच्चापदार्थ कोइला खरिद गर्न आर्थिक अभावका कारण पटकपटक उत्पादनमा अवरोध आएको हो । उद्योगको साविक उत्पादन क्षमता दैनिक १८ हजार बोरा रहेको भएपनि उपकरण जीर्ण हुँदा हाल दैनिक ११ हजार बोरा मात्रै उत्पादन भइरहेको उनले बताए । विसं २०३३ मा हेटौंडाको लामसुरेमा तत्कालीन श्री ५ को सरकारले हेटौंडा सिमेन्ट उद्योग स्थापना गरेको थियो ।

वि.सं २०४३ मङ्सिर २६ गते तत्कालीन राजा वीरेन्द्रवीरविक्रम शाहले उद्योगबाट उत्पादित सिमेन्टको व्यावसायिक शुभारम्भ गरेका थिए । तत्कालीन सरकारले उद्योग निर्माणमा करिब एक अर्ब ३८ करोड ९० लाख रुपैयाँ लागत लगाएको थियो । उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, नेपालगञ्ज, पोखरा, हेटौंडा, वीरगञ्ज लगायत सहरमा बिक्रीवितरण हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*