मकवानपुरमा परीक्षार्थी घट्यो, एकमहिनाभित्र नतिजा सार्वजनिक गर्ने योजना : आजदेखि एसईई परीक्षा सुरु

साझाकुरा
२०८२ चैत्र १९, बिहीबार १३:०७

हेटौंडा- माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि सुरु हुँदैछ । बिहान आठ बजेदेखि सुरु हने परीक्षा ११ बजेसम्म चल्ने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैगरी चैत २० गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत २२ गते अनिवार्य गणित र चैत २३ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद सामवेद, अथर्ववेद, नीतिशास्त्र लगायत विषयको परीक्षा हुनेछ । २४ गते अनिवार्य सामाजिक, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।

एसईई परीक्षामा मकवानपुर जिल्लाबाट यसवर्ष ७ हजार १९२ परीक्षार्थी सहभागी हुने भएका छन् । गतवर्षको तुलनामा यसवर्ष परीक्षार्थी संख्या घटेको देखिएको छ । अघिल्लो वर्ष जिल्लाबाट ७ हजार ४५६ विद्यार्थी एसईईमा सहभागी भएका थिए । मकवानपुरस्थित १ सय ५ वटा सामुदायिक तथा ३७ वटा संस्थागत विद्यालयका छात्रछात्रा यसवर्षको एसईई परीक्षामा सहभागी हुन लागेको जानकारी दिदै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुदीप गिरीले अधिकांश विद्यालयले योग्यता परीक्षामै कम विद्यार्थी सहभागी गराउनाले संख्या कमी हुँदै आएको बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरकाअनुसार नियमिततर्फ ५ हजार ५२७ र ग्रेडवृद्धितर्फ १ हजार ६५ जना गरी कुल ७ हजार १९२ परीक्षार्थीले परीक्षा दिने तयारी गरेका छन् । त्यसैगरी एसईईको लागि जिल्लामा २८ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । यसवर्ष मकवानपुरमा बागमती गाउँपालिकाअन्तर्गत जनता मावि फापरबारी, बकैया गाउँपालिका अन्तर्गत बुद्ध मावि हात्तीसुँडे र महेन्द्र मावि छतिवन, थाहा नगरपालिकाको जनकल्याण मावि पालुङ, मत्स्यनारायण मावि सोल्टु तथा बज्रबाराही माविमा परीक्षा केन्द्र तोकिएको छ ।

त्यस्तै महेन्द्र मावि भीमफेदी, सरस्वती बालबोधीनी मावि मार्खु, राष्ट्रिय रोटरी मावि मनहरी, महेन्द्रकिरण माध्यमिक विद्यालय ज्यामिरे मनहरी, महेन्द्रकिरण माध्यमिक विद्यालय हेटौंडा–३ बसामाडी, निर्मल माध्यमिक विद्यालय बस्तिपुर, वंशगोपाल माध्यमिक विद्यालय चौघडा, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौंडा–४, ज्ञानदा मावि हेटौंडा–१०, बालज्योति माध्यमिक विद्यालय हेटौंडा–५ पिप्ले, सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा–२, भुटनदेवी मावि हेटौंडा–४, जि एस निकेतन हेटौंडा–५, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी हेटौंडा–१०, प्रगति मावि हेटौंडा–९, जनप्रिय मावि हेटौंडा–१६, अमर मावि हेटौंडा–१, श्रमिक मावि हेटौंडा–४, चन्द्रोदय मावि हेटौंडा–८ परीक्षा केन्द्र तोकिएको छ ।प्रजाजागृति मावि राक्सिराङ र कैलाश गाउँपालिका–९ नामटारमा रहेको कालिका मावि गरी २८ परीक्षा केन्द्र निर्धारण गरेको छ । श्रमिकमा मकवानपुरका प्रविधिक धारमा पढाइ हुने विद्यालयको मात्र परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने योजना

शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर, फागुन २१ गतेको प्रतिनिधिसभा चुनावको कारण चैत्र १९ गते धकेलिएको हो । राष्ट्रिय परीक्षा बोर्डकाअनुसार परीक्षाको सबै तयारी पूरा भएको छ । परीक्षा सञ्चालन हुनुअघि शिक्षामन्त्री सस्मित पोखरेल सहित प्रदेश र जिल्लाका सम्बन्धित अधिकारीको भर्चुअल बैठक बसेको थियो । एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । केन्द्राध्यक्ष नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगेका छन् । परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटिने छ ।

यसवर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । यसवर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । बोर्डका अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । एसईईलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि बोर्डले सबैलाई आग्रह गरेको छ । बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ ।

एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने योजनाअनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका हुन् । ‘नतिजा एक महिनामा सार्वजनिक गर्न मन्त्रालयको निर्देशन छ । त्यसका लागि परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ,’ परीक्षानियन्त्रक अधिकारीले भने ।जुन परीक्षा केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को ठाउँबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । ‘शिक्षक नभएको र असुरक्षित ठाउँको परीक्षण केन्द्र सार्न सकिन्छ,’ परीक्षानियन्त्रक अधिकारीले भने, ‘अरुको हकमा परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण हुन्छ ।’

बिगतका वर्षमा गोप्य रुपमा परीक्षण केन्द्र तोक्ने गरिन्थ्यो । साथै एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने गरिएको थियो । यसपालि सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण हुन लागेको हो । यसअघि एसईईको नतिजा असार दोस्रो सातातिर सार्वजनिक हुने गरेको थियो । परीक्षा बोर्डले क्यालेन्डर बनाएर नतिजा सार्वजनिक गर्ने गरेको थियो । तर, ढिलागरी नतिजा सार्वजनिक हुनेगरेको गुनासो आउने गरेको थियो । ढिला नतिजा आउँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नुका साथै ब्रीजकोर्स जस्ता कक्षा सञ्चालन गरेर विद्यार्थीलाई अनावश्यक तनाव दिने गरेको गुनासो आउने गरेको थियो । मन्त्रालयले एसईई पछिको ब्रीजकोर्सका कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*