सहकारी गरिब र दुःखीको समस्या समाधानमा सकारात्मकः मुख्यमन्त्री बानियाँ

साझाकुरा
२०८२ चैत्र २१, शनिबार ११:२८

हेटौंडा-६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताकासाथ मनाइएको छ । ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ प्रभातफेरी गरी सहकारी दिवस मनाइएको हो ।हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको प्रभातफेरी हेटौंडा बजार परिक्रमा गरी चौकीटोलमा रहेको हिमालयन दरबारमा पुगी सभामा परिणत भएको थियो । सहकारी दिवस मूलसमारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । समारोहमा बानियाँले सहकारी संस्थाले गरिब दिनदुखीको समस्या समाधानमा सकारात्मक भूमिका निर्बाह गरेको बताएका छन् । उनले सहकारीमा गलत उद्देश्य सहित आएका केही मानिसका कारण सहकारीक्षेत्र बदनाम भएको बताए ।

बागमती प्रदेश सरकार सहकारीक्षेत्रसँग समन्वय गरेर अघि बढ्न तयार रहेको उनले बताए । सहकारी रजिष्ट्रार कार्यालय काठमाडौंमा रहेपनि यसको सेवा हेटौंडामा बिस्तार गर्ने उनले बताए । मुख्यमन्त्री बानियाँले सहकारीमा बचत गर्ने सर्वसाधारणको सम्पत्तिको सुरक्षा राज्यको जिम्मेवारी भएको स्पष्ट पार्दै दुरुपयोग भएको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको बताए । ‘गरिब नागरिकको बचतको असुरक्षा हुन दिन्नौं, जसले दुरुपयोग गरेको छ, त्यसलाई कानुनी दायरामा ल्याइनेछ,’ उनले भने ।

कृषिक्षेत्रसँग सहकारीको सहकार्यलाई थप मजबुत बनाउनेतर्फ प्रदेश सरकार सकारात्मक रहेको उनले बताए । मौरीपालन, भैंसीपालन, कुखुरापालन, तरकारी खेतीलगायत उत्पादनमूलकक्षेत्रमा सहकारीमार्फत् लगानी र सहकार्य गर्न सरकार तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले सहकारीक्षेत्रका समस्या समाधान गर्न बागमती प्रदेश सरकारले सकारात्मक भूमिका निर्बाह गरेको दाबी गरिन् । जिल्लास्थित बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध उत्पादकलगायत अन्य सहकारी संस्थाले संस्थाको व्यानर, प्लेकार्ड बोकेर विशेषता पोषाकमा सहभागी भएका थिए भने केही सहकारीले नौमतिबाजा र खैजडी भजनसहित सहभागीता जनाएका थिए ।

प्रभातफेरीमा उत्कृष्ट प्रदर्शन गर्ने सहकारीलाई नगदसहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा हेटौंडा–१३ को महिलामिलन बचत तथा ऋण सहकारी संस्था लि. प्रथम, हेटौंडा–१८ स्थित सानाकिसान कृषि सहकारी संस्था लि. हर्नामाडी द्वितीय, हेटौंडा–१७ को सानाकिसान कृषि सहकारी संस्था लि. हटियाले तेस्रो स्थान हाँसिल गरेका थिए । त्यस्तै, हेटौंडा–११ को बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि., हेटौंडा–१९ को सानाकिसान कृषि सहकारी संस्था बसामाडी, हेटौंडा–२ को हातेमालो बचत तथा ऋण सहकारी संस्था लि., हेटौंडा–७ को हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि. ले सान्त्वना स्थान हाँसिल गरेका थिए । यसैगरी सहकारी दिवसको अवसरमा नौमतीबाजा प्रदर्शन गर्ने महिलामिलन बचत तथा ऋण सहकारी संस्था लि., सानाकिसान कृषि सहकारी संस्था लि. मनहरी र खैजडी भजन प्रदर्शन गर्ने सुपिङ दुग्ध उत्पादक सहकारी संस्थालाई नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल, केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक विदुर हुमागाई, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकि अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, जिल्ला कृषि सहकारी संघ, मकवानपुरकी अध्यक्ष रेखा खतिवडा, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख समीर श्रेष्ठ, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाकी प्रमुख ज्योति महतलगायतको आतिथ्यता रहेको थियो । सहकारी दिवसकै अवसरमा चैत्र १८ गते रक्तदान, १९ गते सहकारी संरक्षण, सम्बद्र्धन अभियान र निययामकीय भूमिका विषयक अन्तरसंवाद आयोजना गरिएको थियो ।

सहकारीको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख

हेटौंडा÷ बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुलुकको दीगो विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले सहकारीका मूल्य, मान्यता र सिद्दान्तलाई अक्षरशः पालना गर्दै मर्यादित र सुशासित सहकारी अभियान निर्माणमा लाग्न आग्रह गरे ।

प्रदेश प्रमुख देवकोटाले सहकारीहरु पारदर्शिता, उत्तरदायित्व र सुशासनका आधारमा अनुशासित ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । न्यून आय भएका किसान, श्रमिक तथा मजदुर समुदायभित्रकै पूँजी परिचालनमार्फत् आर्थिक संकट समाधान, उद्यमशीलता विकास तथा बचत संस्कृतिको प्रवद्र्धनमा सहकारीको योगदान प्रशंसनीय रहेको उनको भनाइ छ ।उनले सहकारी केवल संस्थामात्र नभई ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावनाले प्रेरित सामाजिक अभियान भएको स्पष्ट पार्दै सहकारीलाई अझ विश्वासिलो, मर्यादित र दीगो बनाउने सामूहिक प्रतिबद्धताको आवश्यकता औंल्याए ।

यसमा तपाइको मत

Your email address will not be published.


*