१५ औं महाधिवेशनको तयारीमा कांग्रेस ‘जरा अभियान’ गाउँ तहसम्म पुग्ने
काठमाडौँ- नेपाली कांग्रेसले आगामी १५ औँ महाधिवेशनको तयारी औपचारिकरूपमा थालेको छ । पार्टीले पूर्वप्रकाशित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि वडा तहसम्मै पुग्ने गरी सदस्यता वितरण तथा नवीकरण अभियान सुरु गरेको हो ।यस अभियानलाई तीव्रता दिन र व्यवस्थित गर्न कांग्रेसले देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । कांग्रेसले गाउँ तहसम्म पुग्ने यस अभियानलाई ‘जरा अभियान’ नामकरण गरेको छ ।पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ बारे विस्तृत जानकारी दिएका हुन् ।
उनका अनुसार यस अभियानअन्तर्गत् महाधिवेशनको तयारी, सा·ठनिक अवस्थाको अध्ययन, नागरिकस्तरमा निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिसँग जोड्ने चार वटा मुख्य कामहरू हुनेछन् ।७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर सम्बन्धित जिल्लामा बसेर सदस्यता वितरण र नवीकरणलाई विधानबमोजिम व्यवस्थित गर्नेछन् । उनीहरूलाई पार्टी केन्द्रीय कार्यालयले आवश्यक निर्देशिका, कार्यविधि, फारम र तोकिएको जिम्मेवारी दिएर जिल्ला पठाएको छ ।
कांग्रेसले क्रियाशील सदस्यता नवीकरणमा यसपटक निकै कडा नीति लिएको छ । महामन्त्री पौडेलले वैशाख महिनाभित्र सदस्यता अद्यावधिक नगर्नेहरूको क्रियाशील सदस्यता स्वतः खारेज हुने स्पष्ट पारेका छन् । नवीकरण गर्दा सदस्यहरूले विगतमा जुन भूगोल वा वडाबाट सदस्यता लिएको हो, त्यही वडामा पुगेर अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने नियम बनाइएको छ । यो नियम सामान्य कार्यकर्तादेखि वडा सभापतिहुँदै केन्द्रीय सभापतिसम्मलाई समानरूपले लागू हुने पौडेलले बताए ।
त्यसैगरी, कांग्रेसले पार्टीलाई प्रविधिमैत्री बनाउने भन्दै अबदेखि सबै सदस्यलाई ‘कांग्रेस आईडी’ प्रदान गर्ने भएको छ । सदस्यता नवीकरणको प्रक्रिया पूरा गरेपछिमात्र उक्त डिजिटल आईडी प्राप्त हुनेछ । यो आईडी नभएका व्यक्तिले १५ औँ महाधिवेशनको कुनैपनि प्रक्रियामा भाग लिन पाउने छैनन् । कसैलाई दिने र कसैलाई नदिने भन्ने विभेद नराखी प्रक्रियामा आउने सबैलाई यस्तो आइडी दिइनेछ । साथै, नयाँ क्रियाशील सदस्यहरूको हकमा पनि पूर्णरूपमा डिजिटल माध्यमबाटै सदस्यता प्रदान गरिने व्यवस्था मिलाइएको छ ।
जिल्ला पुगेका प्रतिनिधिहरूले पार्टीको मूल संगठन र भ्रातृ स·ठनहरूको यथार्थ अवस्था तथा केन्द्रले सम्बोधन गर्नुपर्ने विषयहरू समेटेर प्रतिवेदन बुझाउनेछन् । यसका अतिरिक्त, कांग्रेसले विगतको निर्वाचनमा भोगेको पराजय र पार्टीको आगामी बाटोबारे नागरिकस्तरमै पुगेर अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।केन्द्रीयस्तरमा पार्टी सभापतिको नेतृत्वमा बुद्धिजीवी, पेसाकर्मी र नागरिक अगुवाहरूसँग ‘कांग्रेसले चुनाव किन हा¥यो र अब कसरी पुनर्जीवित हुने’ भन्ने विषयमा बृहत् छलफल हुनेछ । यही ढाँचामा जिल्ला खटिएका प्रतिनिधिहरूले पनि स्थानीयस्तरका युवा, बुद्धिजीवी र समाजका विभिन्न तप्कासँग निर्वाचनको निर्मम समीक्षा गर्नेछन् ।
पार्टीको संगठनलाई थप चलायमान र जनमुखी बनाउन कांग्रेसले अब सामाजिक गतिविधिमा जोड दिने नीतिसमेत अघि सारेको छ । स्थानीय तहको आवश्यकता र समस्यालाई पहिचान गरी पार्टी पङ्क्तिलाई सामाजिक काममा सक्रिय गराउन प्रतिनिधिहरूलाई विशेष जिम्मेवारी दिइएको छ । राजनीतिक एजेन्डाका साथसाथै सामाजिक उत्तरदायित्वका काममा पार्टीलाई जोडेर संगठनमा नयाँ ऊर्जा थप्ने कांग्रेसको योजना छ ।







