मकवानपुर उद्योग वाणिज्य संघको ५९ औं वार्षिक साधारणसभा
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडाको सडकलाई १६ मिटर कि २५ मिटरमा अल्झाउन नहुने बताएका छन् । राप्तीपुलदेखि रातोमाटेसम्म बाइपास सडक निर्माण गर्दा हेटौंडा बजारमा १६ मिटर मात्रै सडक विस्तार गर्न सकिने उनको बुझाई छ ।मकवानपुर उद्योग वाणिज्य संघको ५९ औं वार्षिक साधारणसभामा मुख्यमन्त्री बानियाँले संघीय सरकारसँग आवश्यक समझदारी गरेर प्रदेश सरकारले क्याबिनेटबाटै सडक विषयमा आवश्यक निर्णय गर्न सरकार तयार रहेको जिकिर गरे । प्रदेश राजधानीलाई लामो समयसम्म अव्यवस्थितरुपमा राख्न नहुने उनले बताए । मुख्यमन्त्री बानियाँले राज्य सञ्चालनको सवालमा सरकार कठोर हुनुपर्ने भएपनि निर्दयी हुन नहुने बताए । उनले हेटौंडाको सडकलाई उपयुक्त निकास दिन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री बानियाँले सडक विस्तारबाट प्रभावित व्यवसायीलाई कर्जामा छुटदिन संघीय सरकारसँग अनुरोध गरे । उनले प्रभावित व्यवसायीको अर्को व्यवस्थापन नहुँदासम्म राष्ट्र बैंकले व्याजमिनाहा गर्नुपर्नेमा जोड दिए । व्यवसायीको हितको लागि नयाँ जनादेशबाट बनेको सरकारसँग बागमती प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उनले बताए । मुख्यमन्त्री बानियाँले हेटौंडाको सडक विस्तार प्रदेश सरकारको अधिकार क्षेत्रभित्र नपर्ने बताए । सरकारी मिडिया बाहेक अन्य मिडियामा विज्ञापन गर्न नपाउने संघीय सरकारको निर्णयप्रति कटाक्ष गर्दै मुख्यमन्त्री बानियाँले अधिकार भए यो कुराको परिपत्र प्रदेश सरकारलाई गर्न पनि आग्रह गरे ।
तीनवटै तहको सरकारले गर्ने काम संविधानमा नै स्पष्ट किटान भएकोले संविधान संशोधन नहुुँदासम्म संविधान अनुरुप नै सरकारले काम गर्नुपर्ने बताए । व्यवसायीको राहतको लागि संविधान संशोधन गरिरहन नपर्ने बताउँदै मुख्यमन्त्री बानियाँले राष्ट्र बैंकका गभर्नरले व्याज मिनाहा गर्नुपर्ने बताए । नेकपा एमाले बागमती प्रदेशका प्रमुखसचेतक एकालाल श्रेष्ठले अहिले हेटौंडा बजार उजाड बनेको बताएका छन् । घर र व्यवसायसँगसँगै उद्योगी, व्यवसायीको मनोबल पनि खस्केको अवस्थामा उद्योग वाणिज्य संघ मौन बसेको भन्दै उनले असन्तुष्टि जनाए ।
प्रमुखसचेतक श्रेष्ठले उद्योग वाणिज्य संघ आफ्नै एजेण्डामा विचलित हुन पुग्दा व्यवसायी मर्कामा परेको बताए । हेटौंडादेखि नारायणगढसम्मको सडक विस्तारको क्रममा हेटौंडाको सडकलाई फरक ढंगले बिचार गर्नुपर्ने स्थानीय व्यवसायी र घरधनीको माग जायज रहेको उनको भनाई छ । संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले संघको गरिमालाई बचाइराख्न चुनौती थपिएको बताए । संघले पछिल्लो एक वर्षको अवधिमा निकै राम्रा काम भएको दाबी गर्दै हेटौंडा बजार क्षेत्रको समस्या तत्काल समाधान गर्न तीनै तहका सरकारसमक्ष माग गरेका छन् ।
रानाभाटको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु भारती पाठक, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गी, कृष्ण अग्रवाल, भुवनलाल श्रेष्ठ, राजकुमार न्यौपाने, नारायणी यातायात ब्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठ, सिन्धुली उवासंघका अध्यक्ष अर्जुन श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । मकवानपुर उद्योग वाणिज्य संघमा २ हजार २ सय ६५ जना सदस्य छन् ।







