‘सञ्चारकर्मीको क्षमता अभिवृद्धिले भ्रामक सूचनाको चुनौती चिर्न सक्छ’

साझाकुरा
२०८२ चैत्र २१, शनिबार ११:३०

हेटौंडा- डिजिटल पत्रकारिताको विस्तारसँगै फैलिएको भ्रामक सञ्चारलाई रोक्न पत्रकारितालाई मर्यादित बनाउन आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन् ।पत्रकारिता मर्यादित बनाउन सञ्चारकर्मीको क्षमता अभिवृद्धि पनि अपरिहार्य रहेको र दक्ष जनशक्तिले मात्रै सत्य र तथ्यपरक सूचना प्रवाह गरी नागरिकको विश्वास जित्न सक्ने बताएका हुन् । बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा धादिङको सहकार्यमा सुरु भएको तालिम उद्घाटन गर्ने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारुमगरले डिजिटल माध्यमबाट प्रवाह हुने भ्रामक सामग्रीले समग्र पत्रकारिता जगतलाई नै कमजोर बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गरे ।

चुनौती चिर्न सञ्चारकर्मीहरु प्रविधिमैत्री र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै अध्यक्ष सारुमगरले सरकारको पछिल्लो कदमप्रति भने आपत्ति जनाए । सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्न तीनवटै तहका निकायलाई गरेको परिपत्रले निजी सञ्चारमाध्यमलाई पाखा लगाउन खोजेको उनको भनाई छ । ‘सरकारी खर्चमा मितव्ययिता, पारदर्शिता र एकरुपता ल्याउने बहानामा निजीक्षेत्रका सञ्चारमाध्यमलाई संकुचित बनाउन खोज्नु प्रेस स्वतन्त्रता विरोधी कार्य हो, नयाँ सरकारले निजी सञ्चारमाध्यमको अस्तित्व संकटमा पार्ने गरी ल्याएको यस्तो परिपत्र कुनैपनि हालतमा मान्य हुँदैन’ उनले भने ।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले सञ्चारकर्मीका लागि सञ्चालित डिजिटल पत्रकारिता तालिमले जिल्लाको पत्रकारितालाई थप जिम्मेवार र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउँदा मात्रै लोकतन्त्र बलियो हुने नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बताए । तालिममा डिजिटल युगमा पत्रकारिताको बदलिँदो स्वरुप, प्रविधिको प्रभाव तथा एआईको प्रभावकारी प्रयोगबारे जानकारी प्रदान गरिने र डिजिटल सामग्री उत्पादन, तथ्य जाँचबारे प्रशिक्षण दिइने मुख्य प्रशिक्षक अजय शर्माले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*