सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शैया
हेटौंडा-सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शैया निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागूगर्ने निर्णय गरेपछि अस्पतालले यो व्यवस्था कार्यान्वयन गर्न थालेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचनामार्फत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यको पछिल्लो प्रगतिविवरण सार्वजनिक गर्दै ३२ अस्पताल (१९ निजी र १३ सरकारी) का १० प्रतिशत शैयामा निःशुल्क उपचार प्रदान गरिएको जानकारी गराएको हो ।
सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीले उपचारसेवामा पहुँच नपाउने, आर्थिक कारणले उपचारबाट वञ्चित अवस्थाको अन्त्य गर्न र निजी–सरकारी दुवैक्षेत्रमा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्न सरकारी तथा निजी अस्पतालका कुल शैयामध्ये कम्तिमा १० प्रतिशत निःशुल्क उपलब्ध गराउने व्यवस्था कडाइकासाथ तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।चैत १३ मा मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम शासकीयसुधारको कार्यसूचीमा स्वास्थ्यक्षेत्रका सुधारमा विभिन्न छ बुँदा समेटिएको थियो । जसअनुसार वीर अस्पताल, गंगालाल हृदय केन्द्र, कान्ति बाल अस्पताल लगायत अस्पतालमा सेवाको गुणस्तर सुधारका लागि अनुगमन गरी आवश्यक सुधारका लागि पृष्ठपोषण गरिएको मन्त्रालयले जनाएको छ ।
अस्पताल सेवा सुधार निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार गरिएको छ । सुदूरपश्चिम प्रदेशको टीकापुर, महाकाली र सेती प्रादेशिक अस्पतालका साथै मधेश प्रदेशको कलैया अस्पतालमा जलन वार्ड स्थापना तथा सेवा सञ्चालनको तयारी सुरु गरिएको छ ।मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा अवरुद्ध रहेको जलनउपचार सेवा पुनःसञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडीक्षेत्रमा आपतकालीन स्वास्थ्यसेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामाराख्ने सम्बन्धमा आवश्यक व्यवस्था हाल कार्यान्वयनमा रहेको छ ।
दुर्गमक्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्दारसम्बन्धी कार्यविधिमा आवश्यक संशोधन गर्न महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयसँगपरामर्श तथा समन्वय गरिएको छ । स्वास्थ्य क्षेत्रका गुनासो संकलन गर्न क्युआर कोड र छुट्टै इमेलको व्यवस्था गरिएको छ । एकीकृत प्रणालीमार्फत् गुनासो सम्बोधन कार्य सुरु गरिएको मन्त्रालयले जनाएको छ ।







