अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी
हेटौंडा-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही संस्थागत विद्यालयले कानुनी व्यवस्थाविपरीत अग्रिमरुपमा विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुल्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयकाअनुसार देशका विभिन्न जिल्लाका केही निजी विद्यालयले शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ८४ (४) र नियम ७८ (ग) अन्तर्गतको व्यवस्था तथा सम्मानित सर्वोच्च अदालतको मिति २०८२ चैत २० गतेको आदेश उल्लंघन गर्दै शैक्षिकसत्र २०८३ सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र शुल्क असुल्ने गरेको सप्रमाण तथ्य सार्वजनिक भएका छन् ।
मन्त्रालयले विद्यालय सञ्चालन जस्तो जिम्मेवार र गरिमामय क्षेत्रमा यस्ता गैरकानुनी गतिविधि अशोभनीय मात्र नभई दण्डनीयसमेत हुने भन्दै सबै विद्यालयलाई सचेत रहन आग्रह गरेको छ ।मन्त्रालयले सबै विद्यालय लाई नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ मा तोकिएको बाहेक अन्य कुनै शुल्क नलिन निर्देशन दिएको छ । अभिभावकबाट कानुन विपरीत रुपमा असुल गरिएको भर्ना शुल्क सम्बन्धितलाई फिर्ता गराउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सबै स्थानीय तहलाई अनुरोध गरिएको छ ।मन्त्रालयले तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा ऐन, २०२८ लगायत प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।







