बागमती प्रदेश उद्योग परिसंघमा कडेँलको अध्यक्षतामा कार्यसमिति चयन

उद्योगीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
साझाकुरा
२०८२ चैत्र २६, बिहीबार १२:३३

हेटौंडा- बागमती प्रदेश उद्योग परिसंघको पाँचौँ वार्षिक साधारणसभा प्रदेशराजधानी हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्यमन्त्री बानियाँले देशको आर्थिक गतिशीलताका लागि उद्योगक्षेत्र अपरिहार्य रहेको उल्लेख गरेका छन् । उद्योगी व्यवसायीले लिएका लक्ष्य पूरा गर्न सरकारले लचिलो, सरल र व्यवसायमैत्री नीति ल्याउनुपर्नेमा जोड दिँदै उनले बागमती प्रदेश सरकार उद्योगीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री बानियाँले भूमि व्यवस्थापन, उद्योग दर्ता र राजस्व संकलन जस्ता विषय प्रदेश सरकार मातहतमा आएमा उद्योग सञ्चालन अझ सहज हुने विश्वास व्यक्त गरे ।

नेपालको आर्थिक विकासमा उद्योग क्षेत्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीलाई उत्साहित बनाउने वातावरण सिर्जना गर्नु तीनै तहका सरकारको दायित्व रहेको उनले बताए । संघीय सरकारले नीतिगत सुधारमा थप ध्यान दिनुपर्ने आवश्यकतामा मुख्यमन्त्री बानियाँको जोड थियो । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले उद्योगी व्यवसायीलाई कानूनले जटिलता सिर्जना गर्ने भन्दा पनि सहजता प्रदान गर्ने हुनुपर्ने धारणा राखे । उद्योग क्षेत्र देशको मेरुदण्डकारुपमा रहेको उल्लेख गर्दै देशलाई आर्थिकरुपमा सक्षम बनाउन सबैभन्दा ठूलो भूमिका उद्योगको हुने उनको भनाई थियो ।

हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिका देशकै सबैभन्दा धेरै उद्योग रहेको क्षेत्र भए पनि बेरोजगारी समस्या कायम रहनु दुःखद रहेको बताइन् । उनले स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिँदै गुन्द्रुकलाई ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने प्रयास भइरहेको जानकारी दिइन् । मेवा र ड्रागन फ्रुटलाई पनि हेटौंडाको पहिचानकारुपमा विकास गर्न व्यावसायिक खेती विस्तार भइरहेको नगरप्रमुख लामाले बताइन् । परिसंघका निवर्तमान अध्यक्ष लेखराज पोखरेलले अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावका कारण उद्योगक्षेत्र प्रभावित भएको बताए ।

विशेषगरी अमेरिका–इरान तनावका कारण उत्पादन लागत झण्डै दोब्बर बढेको र कच्चापदार्थ सहजरुपमा उपलब्ध हुन नसकेको उनको भनाइ थियो । उनले औद्योगिकीकरणमार्फत् दिगो विकास र रोजगारी सिर्जनाका लागि सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै औद्योगिक क्षेत्रसँग सम्बन्धित जग्गा बहाल विवाद तत्काल समाधान गर्न माग गरेका छन् । प्रस्तावित रसुवागढी–ठोरी मार्ग नजिक पर्ने विदुर नगरपालिका–५ र ६ को १५० रोपनीभन्दा बढी जग्गामा औद्योगिकग्राम स्थापना गर्न प्रदेश सरकारसँग आग्रह गरे ।

परिसंघका संस्थापक अध्यक्ष कृषिराम पोखरेल र निवर्तमान अध्यक्ष भेषराज दुवाडीलाई सम्मान गरिएको थियो । कार्यक्रममा मायाको चिनोमा खर्च हुने रकम मामाघर नेपाललाई प्रदान गरिएको छ । मामाघर नेपालका संस्थापक अर्पण पराजुलीलाई परिसंघको तर्फबाट १० हजार रुपैयाँ प्रदान गरिएको हो । परिसंघको तेस्रो अधिवेशनबाट त्रिलोचन कडेँलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । निवर्तमान अध्यक्षमा लेखराज पोखरेल, वरिष्ठ उपाध्यक्षमा दिवस न्यौपाने चयन भएका छन् । स्वागतराज प्याकुलेल, बद्रीनाथ शर्मा र दिनुपकुमार वराल उपाध्यक्षहरु निर्विरोध चयन भएका छन् । सविना सुडालको संयोजकत्व प्रदेश उद्योग परिसंघ महिला उद्यमी मञ्च गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*