बागमतीमा सवारीसाधनको भाडादर वृद्धि कार्यान्वयनमा
हेटौंडा- बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णय अनुसार पेट्रोलियमपदार्थबाट सञ्चालन हुने सवारीसाधनको नयाँ भाडादर राजपत्रमा सूचना प्रकाशन भएसँगै लागू गरिएको हो ।प्रदेश भाडा निर्धारण तथा समायोजनसम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँदर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।
नयाँ व्यवस्था अनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५ दशमलब ९६ प्रतिशतले वृद्धि गरिएको छ । त्यस्तै, पेट्रोलियमपदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२ दशमलब ३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७ दशमलब ३५ प्रतिशत तथा मालवाहक सवारीसाधनमा २६ दशमलब ७९ प्रतिशतले भाडा बढाइएको छ ।यद्यपि, विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी तथा ट्याक्सी सेवाको भाडा भने यथावत राखिएको छ । ती सवारीसाधनमा २०७९ वैशाख १ गतेदेखि लागू भाडादर नै कायम रहने मन्त्रालयले स्पष्ट पारेको छ ।
भाडा समायोजनअघि सरोकारवाला पक्षसँग व्यापक छलफल गरिएको थियो । यसक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बाँनिया र महासचिव बद्रीप्रसाद चौलागाईं सहितको टोली मन्त्रालय पुगेको थियो । उनीहरुले इन्धन मूल्यवृद्धि, सञ्चालन खर्चमा भएको बढोत्तरी तथा ढुवानीक्षेत्रमा परेको दबाबका कारण भाडा समायोजन आवश्यक रहेको धारणा राखेका थिए ।बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठउपाध्यक्ष पुण्यप्रसाद सिटौला तथा सार्वजनिक यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनाललगायत पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो । सरकारले बढ्दो इन्धन मूल्य, सञ्चालन लागत र व्यवसायीको दबाबलाई मध्यनजर गर्दै भाडादर समायोजन गरिएको जनाएको छ ।






