मधेश प्रदेशमाथि बागमतीको महत्वपूर्ण जीत
हेटौंडा- बायाहाते पेस बलर प्रतिश जिसीले ५ विकेट लिएपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशले मधेश प्रदेशमाथि महत्वपूर्ण जित हासिल गरेको छ ।शुक्रबार वीरगन्जमा भएको खेलमा बागमतीले मधेशलाई ३५ रनले पराजित गरेको हो । बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको मधेश ३४ दशमलब ३ ओभरमा १ सय ७३ रनमा अलआउट भयो । मयन यादवले सर्वाधिक ४० रन बनाए । आदिल आलमले २७, कप्तान अनिल साहले २६, विशाल सुस्लिङले २१ रन बनाए । मोहम्मद समिरले १६ रन बनाए । अभिषेक तिवारीले १० रन बनाए । बागमतीका प्रतिशले ९ दशमलब ३ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । रिजन ढकालले २ तथा कप्तान सन्दीप लामिछाने र सुवास खत्रीले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४८ दशमलब ४ ओभरमा अलआउट हुँदै २०८ रन बनाएको थियो । उत्तम मगरले सर्वाधिक ४४ रन बनाए भने कप्तान सन्दीपले ३६ रन बनाए । रिङ्जिन लामाले २९ अनि आशुतोष घिरैयाले १८ रन बनाए । मधेशका लागि पवन सर्राफले १० ओभरमा ३१ रन दिएर ३ विकेट लिए । आदिल आलम र रन्जित कुमारले २–२ तथा विशाल पटेल, अभिषेक तिवारी र अरनिको यादवले १–१ विकेट लिए ।योसँगै ८ खेलमा चौथो जित हासिल गरेको बागमती प्रदेश ८ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ र जय ट्रफीका लागि छनोट हुने सम्भावना बलियो बनाएको छ । जय ट्रफीमा अबदेखि ६ टोलीले खेल्दै छन् । ७ खेलमा ९ अंक भएको मधेश चौथो स्थानमा यथावत् छ । मधेशको पनि जय ट्रफी खेल्ने सम्भावना बलियो नै देखिएको छ ।







