निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत हर्जाना :फाखेल–मातातीर्थ सडक निर्माणकार्य सुस्त
हेटौंडा- हेटौंडा–काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्गकारुपमा हेरिएको फाखेल–मातातीर्थ–सतुंगल सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन ।प्रादेशिक सडक गुरुयोजनामा समावेश यो सडक निर्माण सुरु भएको झण्डै सातवर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन । यस सडकको ट्रयाक खोल्ने काम तत्कालीन जिल्ला विकास समिति काठमाडौंबाट २०५५ सालमै सुरु गरिएको थियो । ट्रयाक खोल्न मात्रै झण्डै १२ वर्ष लाग्यो । ट्रयाक खुलेको करिब एक दशकपछि २०७६ जेठ १७ गते बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् सडक निर्माणकार्य सुरु गरिएको थियो । कुल १४ दशमलव ४ किलोमिटर सडक खण्डलाई मकवानपुर र काठमाडौँ गरी दुई भागमा विभाजन गरी छुट्टाछुट्टै निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो ।
मकवानपुर खण्डअन्तर्गत महालक्ष्मीखोलादेखि चखेल–मकैबारीसम्म ६ दशमलव ३ किलोमिटर सडक निर्माणको जिम्मा पूर्वाधार विकास कार्यालय मकवानपुरमार्फत् सदाशिव हिमाल कन्स्ट्रक्सनले पाएको थियो । काठमाडौँ खण्डअन्तर्गत मकैबारीदेखि मातातीर्थसम्म ८ दशमलव १ किलो मिटर सडक निर्माणको जिम्मा पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत् अमर कन्स्ट्रक्सनलाई दिइएको थियो । काठमाडौँ खण्डमा निर्माणकार्य अत्यन्तै सुस्त देखिएको छ । अमर कन्स्ट्रक्सनले २०७६ सालमा भ्याट सहित करिब २८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । पटक–पटक गरी पाँच पटकसम्म म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको छैन ।
समयमै काम सम्पन्न नभएपछि प्रदेश सरकारले निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत हर्जाना लगाएको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख नवीन सिंहले जानकारी दिए । यस खण्डको हालसम्म भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६६ दशमलव ०२ प्रतिशत रहेको छ । मकवानपुरतर्फको खण्डमा सदाशिव हिमाल कन्स्ट्रक्सनले २०८० जेठमा दुई वर्षभित्र काम सक्ने गरी करिब १८ करोड ४६ लाख रुपैयाँ लागतमा सम्झौता गरेकोथियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आगामी जेठ २५ गतेसम्मका लागि एकवर्ष म्यादथप गरिएको थियो ।
यस खण्डमा हालसम्म भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ७२ दशमलव ३५ प्रतिशतरहेको पूर्वाधार विकास कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयकाअनुसार सडक चौडाइ, सबबेस, कल्भर्ट, टेवा पर्खाल र नाली निर्माणका काम सम्पन्न भइसकेका छन् भने बेस ओछ्याउने काम ८० प्रतिशत पूरा भएको छ । हालसम्म करिब तीन किलोमिटर सडक कालोपत्रे तथा ढलान भइसकेको छ । बाँकी रहेको ३ दशमलव ३ किलोमिटर सडक आगामी वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख ईन्जिनियर सुजन भण्डारीले बताएका छन् ।
महालक्ष्मी खोलादेखि काठमाडौँको कलंकीसम्म करिब २० किलोमिटर दूरी रहने यस सडक समयमै सम्पन्न हुन सकेमा काठमाडौं–हेटौंडा यात्रा छोटो र सहज हुने अपेक्षा गरिएको छ । प्रदेशराजधानी र संघीय राजधानी जोड्ने अन्य मार्गमध्ये यो सबैभन्दा छोटो दूरीको मार्ग मानिन्छ । हेटौंडाबाट कुलेखानीसम्म एउटै मार्ग प्रयोग गर्नुपर्ने हुन्छ । त्यसपछि सिस्नेरी–दक्षिणकाली, फाखेल–हुमाने–फर्पिङ र महालक्ष्मीखोला– मातातीर्थ गरी तीन विकल्पमध्ये यो मार्ग सबैभन्दा छोटो रहेको छ । चखेलक्षेत्र तरकारी पकेटक्षेत्रकारुपमा विकास भइरहेकाले यहाँ उत्पादित तरकारी काठमाडौँको कालिमाटीसम्म सहजरुपमा ढुवानी गर्न तथा आवतजावतलाई थप सहज बनाउन यो सडक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।







