‘अपरेसन ड्रप’ अन्तर्गत थप २० जना पक्राउ
हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत २० जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार प्रहरीले अवैधरुपमा नदीजन्यपदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ८ जना तथा लागूऔषध सेवन गर्ने १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।नियन्त्रणमा परेकामध्ये केही व्यक्ति नदीजन्यपदार्थ उत्खनन तथा ढुवानीमा संलग्न रहेका छन् भने केही लागूऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ । मदिरा भट्टी सञ्चालन तथा त्यहाँ काम गर्ने व्यक्ति र चोरी मुद्दाका एक फरार प्रतिवादी समेत पक्राउ परेको जानकारी दिइएको छ । नदीजन्यपदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ का नीराजनप्रसाद दीक्षा थारु, पर्साको पटेर्वा सुगौली नगरपालिका–३ का रामधार महतो थारु, २० वर्षीय मिर्गन चौधरी, रोशन हजारदास, मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का बीरेन चेपाङ, १९ वर्षीय आशिष प्रजा, १२ वर्षीय एक किशोर, वर्ष १९ का हेटौंडा–३, बसामाडीका सौरभ मगरलाई पक्राउ गरेको छ ।
लागूऔषध सेवन गर्ने मकवानपुरगढी गाउँपालिका–५, का प्रदीप भोलन, २० वर्षीय अमृत स्याङतान, ३५ वर्षीय गणेश पण्डित, हेटौंडा–११ का सिमन भुजेल, हेटौंडा–४ का ३२ वर्षीय रोहित तामाङ, ३० वर्षीय विके तामाङ, हेटौंडा–१० का ३७ वर्षीय बिक्रम तामाङलाई पक्राउ गरेको छ । चोरीको मुद्दामा फरार रहेका हेटौंडा–१ का बिजय तामाङ, मदिरा भट्टी सञ्चालन गर्ने काभ्रे जिल्लाको तेमाल गाउँपालिका–५ घर भई हाल हेटौंडा–१६ बस्दै आएका ६७ वर्षीय भिमानसिंह तामाङ, सोही भट्टीमा काम गर्ने १९ वर्षीय लिलाबहादुर तामाङ र मकवानपुरको बकैया गाउँपालिका–४, हात्तीसुँडेका २२ वर्षीय शिवराज ठकुरीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । सबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






