नसर्ने रोग रोकथामका लागि स्वास्थ्य र खेलकुद कार्यक्रम सुरु

साझाकुरा
२०८२ चैत्र २६, बिहीबार १२:३४

हेटौंडा- हेटौंडामा नसर्ने रोग न्यूनीकरण र शारीरिक गतिविधि प्रवद्र्धन सम्बन्धी कार्यक्रम भएको छ । बुधबार र बिहिबार दुईदिन चल्ने कार्यक्रममा बुधबार मनहरी गाउँपालिका राक्सिराङ, कैलाश र हेटौंडा उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य, खेलकुदका प्रमुख, स्कुल नर्स र क्लबका प्रतिनिधि सहभागी रहेका थिए ।‘कम्युनिटी स्पोर्ट एण्ड हेल्थ कोअपरेशन इनिसिएटिभ’ अन्तर्गत् आयोजित कार्यक्रममा दैनिक कम्तिमा ६० मिनेट खेलकुदले नसर्ने रोगको जोखिम घटाउने विषयमा जोड दिइएको थियो । कार्यक्रममा सिनियर प्रोग्राम अफिसर सञ्जु गौतमले नेपालका मकवानपुर, नुवाकोट, चितवन र ललितपुरमा स्वास्थ्य शिक्षा र खेलकुदलाई जोडेर कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनका अनुसार नसर्ने रोगका कारण मृत्युदर बढ्दो छ, विशेषगरी युवामा यसको प्रभाव गम्भीर बन्दै गएको छ ।

हेल्थ कन्सर्नका प्रोग्राम म्यानेजर राजेन्द्र थापाले वर्तमान अवस्था चिन्ताजनक रहेको बताउँदै स्वस्थ जीवनशैली अपनाउन आवश्यक रहेको धारणा राखे । उनले सहभागीलाई केही कार्यप्रस्तुति सहितको छलफल गराएका थिए । नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठले नियमित व्यायाम मानवस्वास्थ्यका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै यसलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा करिब १५० अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी तथा क्लबका सदस्यको सहभागिता रहेको थियो । सहभागीले सामुदायिक स्वास्थ्य र खेलकुदलाई एकीकृतरुपमा अघि बढाउने विषयमा छलफल गरेका थिए ।

हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा आगामी योजना तथा सहकार्यका विषयमा छलफल गरिएको थियो । आगामी दिनमा हेटौंडा उपमहानगरबाट हुने नीति तथा योजनामा यस्ता कार्यक्रमलाई पनि समावेश गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*