हेटौँडामा सम्झिइयो पारिजात
हेटौँडा- साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा हेटौँडा–१०, बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरिएको छ । साहित्य संगम मकवानपुर तथा हेटौँडा–१० स्थित आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष फुर्वादोर्जे लामाले माल्यार्पण गरेका हुन् ।कार्यक्रममा साहित्यकार सुवास सजलले पारिजातका प्रतिनिधि कविताहरु वाचन गरेका थिए । कार्यक्रमका सहभागीले नेपाली साहित्यमा पारिजातको योगदानको चर्चा गरेका थिए ।
साहित्य संगम मकवानपुरका उपाध्यक्ष मनोज पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु एवम् साहित्यप्रेमीको उपस्थिति थियो ।नेपाली साहित्यमापारिजात नामले परिचित विष्णुकुमारी वाइबाको जन्म १९९४ सालमा दार्जिलिङमा भएको थियो । भारतमा जन्मिए पनि पढाइ तथा साहित्यमा मलजल गर्ने काम २०११ सालमा नेपाल आएपछि सुरु भयो । पारिजातले काठमाडौंको पद्मकन्या क्याम्पसबाट स्नातक तहसम्म अध्ययन पूरा
गरिन् । उनको शिरिषको फूल सबैभन्दा चर्चित उपन्यास हो । यस कृतिका लागि पारिजातले २०२२ सालमा मदन पुरस्कार जित्दै पहिलोपटक मदन पुरस्कार जित्ने महिला साहित्यकारको पहिचान बनाएकी थिइन् ।यतिमात्र नभएर यस उपन्यास विभिन्न भाषामा अनुवाद गरी विश्वका विभिन्न विश्व विद्यालयहरुमा पठनपाठनमा समेत समावेश गरिएको छ । पारिजातले उपन्यासबाहेक कविता, कथा,जीवनी तथा संस्मरणसमेत प्रकाशन गरेकी छन् । विभिन्न विधामा एकैसाथ कलम चलाउनुभएकी पारिजातको २०५० बैशाख ५ गते निधन भएको थियो ।







