दलित सशक्तिकरण सम्बन्धी विधेयक निर्माणका लागि सरोकारवालासँग छलफल

सडकदेखि सदनसम्म आवाज उठाइने चेतावनी
साझाकुरा
२०८३ बैशाख ८, मंगलवार ०९:१०

हेटौंडा- बागमती प्रदेशमा दलित सशक्तिकरण सम्बन्धी विधेयक निर्माणका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया भएको छ । दलित महिला संघ (फेडो) मकवानपुरको आयोजनामा सामेबार भएको कार्यक्रममा विधेयकको मस्यौदामाथि सुझाव संकलन गरिएको हो । कार्यक्रमका प्रमुखअतिथि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले दलित समुदायमाथि हुने विभेद अन्त्य गर्न प्रभावकारी कानुन अपरिहार्य रहेको बताएका छन् । उनले संविधानमा छुवाछुत अन्त्य भएको उल्लेख भएपनि व्यवहारमा अझै विभेद कायम रहेकाले त्यसको अन्त्यका लागि स्पष्ट र कडाइकासाथ लागूहुने कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे । दलित समुदायको हकअधिकार स्थापना गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा जात, वर्ग वा समुदाय भन्दा मानवता ठूलो हुने उल्लेख गर्दै पछाडि परेका वर्गलाई अग्राधिकार दिनु आवश्यक रहेको बताएका छन् । उनले गणतन्त्रलाई गरिबमुखी व्यवस्थाको रुपमा चित्रण गरे ।त्यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारीले प्रस्तावित विधेयकले दलित समुदायको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । सरोकारवालाबाट प्राप्त सुझाव समेटेर व्यवहारिक र कार्यान्वयनयोग्य कानून निर्माणगरिने उनको भनाइ थियो ।

उनले लोकतन्त्र बलियो भएमात्र सामाजिक तथा जातीय उत्थान सम्भव हुने उल्लेख गर्दै दलित समुदायको सीप, कला र क्षमताको उचित उपयोग आवश्यक रहेको बताए । प्रदेशसभा सदस्य बालकुमारी विश्वकर्माले दलित समुदायले भोग्दै आएको विभेद अन्त्य गर्न कानुन आवश्यक रहेको बताइन् । उनले दलित सशक्तिकरणका लागि कानुन निर्माणको विषय आफूले सुरुदेखि नै सदनमा उठाउँदै आएको भएपनि अपेक्षित प्राथमिकता नपाएकोमा असन्तुष्टि जनाइन् । चालु आर्थिक वर्षभित्रै कानून बनाउनुपर्नेमा जोड दिँदै उनले अन्य प्रदेशले यससम्बन्धी कानुन निर्माण गरिसकेको अवस्थामा बागमती प्रदेश पछि पर्न नहुने बताइन् ।

आवश्यकता परे सडकदेखि सदनसम्म आवाज उठाइने चेतावनी उनले दिइन् । कार्यक्रममा प्रदेश बालअधिकार समितिका संयोजक प्रकाश खतिवडाले विधेयकको आवश्यकता र मस्यौदाबारे प्रस्तुतीकरण गरेका थिए । सहभागीले विधेयकलाई समावेशी, व्यवहारिक र कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड दिँदै दलित समुदायमाथि हुने विभेद अन्त्य र समान अवसर सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए । फेडो मकवानपुरकी उपाध्यक्ष सुनिता दर्नालको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*