थाहानगरमा व्यक्तिगत घटनादर्ता सप्ताह सञ्चालन

साझाकुरा
२०८३ बैशाख ८, मंगलवार ०९:११

हेटौंडा-व्यक्तिगत घटनादर्ता सप्ताहको अवसरमा थाहा नगरपालिकाले विविध कार्यक्रम सञ्चालन गरेको छ । प्रत्येक वर्षको १ वैशाखदेखि सातदिनसम्म मनाइने दिवसलाई नगरपालिकामा व्यक्तिगत घटनादर्ता प्रचार ब्यानर अनावरण गरेर सुरुवात गरिएको हो ।सप्ताहको अवसरमा नगरपालिकाको १२ वटै स्वास्थ्य संस्थाबाट जन्मदर्ता सम्बन्धी प्रिइन्रोलमेन्ट कार्यको शुभारम्भ गरिने भएको छ । यो कार्यक्रमलाई अघि बढाउनका लागि स्वास्थ्य संस्था प्रमुखलाई एकदिने अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा नगरका एक प्राथमिक स्वास्थ्य केन्द्रसहित स्वास्थ्यचौकी, आधारभूत स्वास्थ्यकेन्द्र तथा सहरी स्वास्थ्य केन्द्रका प्रमुखको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीलाई सूचनाअधिकृत सुरजकुमार भुजेल, एमआइएस अपरेटर रुपक कार्की लगायतले सहजीकरण गरेका थिए । नगरक्षेत्रमा जन्मिएका बालबालिकाको समयमै जन्मदर्ता गराइ व्यक्तिगत घटनादर्तातर्फ नागरिकलाई आकर्षित गर्ने उद्देश्यले स्वास्थ्य संस्थामा जन्मने बित्तिकै प्रिइन्रोलमेन्ट गरिने कार्य अघि बढाइन लागेको एमआइएस अपरेटर कार्कीले जानकारी दिए । यसरी प्रिइन्रोलमेन्ट गर्दा तथ्यांकको त्रुटिमा कमी आउने कार्कीको भनाइ थियो । अभिमुखीकरण कार्यक्रममा थाहा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवविक्रम मल्ल, सामाजिक विकास अधिकृत अनिल लामिछाने, सूचना प्रविधि अधिकृत भगीरथ कार्कीलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच व्यक्तिगत घटनादर्ता सम्बन्धी प्रचारप्रसारलाई पनि जोड दिइएको छ । प्रत्येक वडामा फ्लेक्स ब्यानर तथा स्थानीय सञ्चार माध्यममार्फत् प्रचारप्रसारको कार्यलाई तीब्रता दिइएको फिल्ड सहायक अच्युत विडारीले जानकारी दिए । नागरिकलाई व्यक्तिगत घटनादर्ता सम्बन्धी जानकारी दिने उद्देश्यले प्रचारप्रसार कार्यलाई प्राथमिकताको साथ अघि बढाइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*