भुटनदेवी माविले होटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने
हेटौंडा- हेटौंडा उपमहानगरको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थप अध्यापन गराउने भएको छ । यसअघि साइन्स, सिभिल ईन्जिनियरिङ र व्यवस्थान विषय अध्यापन गराउँदै आएको भुटनदेवी माविले व्यवस्थापनतर्फ होटल म्यानेजमेन्ट, शिक्षा विषय शैक्षिक वर्ष २०८३÷८४ देखि थप गर्न लागेको हो । होटल म्यानेजमेन्टको लागि सुविधा सम्पन्न ल्यावको व्यवस्थापन गरिने आइतबार भएको १२ कक्षाको बधाई र विदाई कार्यक्रममा जानकारी गराइएको हो । कार्यक्रममा हरेक कक्षालाई प्रविधिमैत्री, व्यावहारीक र प्रयोगात्मक माध्यमद्वारा कक्षा सञ्चालन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडाअध्यक्ष नवीन सिग्देलले बताए ।
उनले शिक्षालाई समय सापेक्ष जनशक्ति उत्पादन गर्नको लागि विद्यालयमा सबै अभ्यास गर्न भौतिक र शैक्षिक सुधारलाई गुणस्तरीय र प्रभावकारी बनाइने बताए । कार्यक्रमका सभाध्यक्ष विद्यालयकाका प्रअ सूर्यप्रसाद घिमिरेले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको प्राथमिकता रहेको बताए । शैक्षिक, अतिरिक्त र प्रविधिमैत्री बनाउदै स्मार्ट कक्षा, स्मार्ट विद्यालय र स्मार्ट शिक्षा बनाउन विद्यालय प्रशासन लागिपरेको उनले बताए ।
कार्यक्रममा ११ र १२ संयोजक राम श्रेष्ठ, शिक्षक सरस्वती अधिकारी, विद्यार्थी राधिका थिङलगायतले शुभकामना मन्तव्य राखेका थिए ,विद्यालय व्यवस्थापन समिति सदस्य कृष्ण कंडेल, सप्रअ वेदराज कोईरालालयागत शिक्षक र विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीलाई कक्षागत सामूहिक फोटो मायाको चिनोको रुपमा प्रदान गर्दै कक्षा १२ को परीक्षाको लागि शुभकामना प्रदान गरिएको थियो । भर्खरै भएको नगरस्तरीय परिक्षामा विद्यालयले कक्षा ८ को नतिजामा ४ जना चार जिपिएसहित विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।







