‘समीक्षाको अर्थ गल्ती खोज्नुमात्र नभई आगामी यात्रा तयगर्नु हो’

निर्वाचनबाट अवसर र चुनौती दुबै प्राप्त : सभापति थापा
साझाकुरा
२०८३ बैशाख ८, मंगलवार ०९:०८

हेटौंडा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गते सम्पन्न निर्वाचनबाट अवसर र चुनौती दुबै प्राप्त भएको बताएका छन् ।सोमबार हेटौंडामा भएको पार्टीको बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सभापति थापाले निर्वाचनमा हारजीत स्वाभाविक प्रक्रिया भएपनि अब कांग्रेसले राष्ट्रिय राजनीतिमा आफ्नो स्थान स्थापित गर्नुपर्ने बताए । निर्वाचनको सानो घेरामा नबसी त्यसभन्दा माथि उठ्ने बेला भएको उनको भनाई छ । सभापति थापाले गएको एक डेढ महिनामा राष्ट्रिय राजनीतिको सवालमा केन्द्रीय कार्यसमितिले महत्वपूर्ण निर्णय गरेको बताए । मुलुकमा विधिको शासन स्थापित गर्ने विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको उनले उल्लेख गरे ।

कुनै पनि व्यक्ति कानुनभन्दा माथि नहुने भन्दै सभापति थापाले राज्यको निकायले अनुसन्धान गर्न खोज्दा सहयोग गर्नुपर्ने धारणा राखे । उनले भने, ‘प्रधानमन्त्री होस् वा कांग्रेस पार्टी सभापति राज्यले अनुसन्धान गर्छु भन्दा सबैले सहयोग गर्नुपर्छ । २०४८ सालयता सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबीन हुनुपर्ने र दोषी देखिए सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।’ भविष्यमा आपूmमाथि नै सरकारले अनुसन्धान गर्न खोज्दा कांग्रेसका कोही नेता, कार्यकर्ताले पार्टी सभापतिमाथि अनुसन्धान गर्न पाइँदैन भनेर नभन्ने उनले दाबी गरे । सभापति थापाले विधिको शासनमा व्यक्तिले कानुन मान्दै गर्दा राज्यले पनि कानुन मान्नुपर्ने बताए ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सन्दर्भमा कांग्रेसले लामो छलफल पछि आधिकारिक धारणा सार्वजनिकगरेको उनले जिकिर गरे । सभापति थापाले कार्की आयोगको प्रतिवेदन अपूर्ण, बदनीयत र प्रतिशोधपूर्ण रहेको बताए । भदौ २४ गतेको घटनाबारे आयोग मौन बसेकोले उच्चस्तरीय न्यायिक छानबीन आयोग बनाउनुपर्ने उनले बताए । सभापति थापाले जनजीविकाका छलफलमा कांग्रेस सरकारसँग सहकार्य गर्ने बताए । कांग्रेसबिना राष्ट्रिय राजनीति चल्न नसक्ने उनको जिकिर थियो । सभापति थापाले विगतमा कांग्रेसले हार्ने चुनाव पनि लडेको उल्लेख गर्दै देशले जित्छ भने कांग्रेस हार्न पनि तयार हुनुपर्ने बताए ।

जेनजी आन्दोलनबाट ट्रयाक बाहिर गएको संविधान फागुन २१ गतेको चुनावबाट ट्रयाकमा आएको उनको भनाई छ । सभापति थापाले निर्वाचनको नतिजापछि पार्टीभित्र हारको चिन्ताभन्दा पनि भविष्यको चिन्तन आवश्यक रहेको बताएका छन् । उनले निर्वाचनको नतिजाले कांग्रेसलाई नयाँ अवसर र चुनौती दिएको बताए । सभापति थापाले समीक्षाको अर्थ गल्ती खोज्नु मात्र नभई आगामी यात्रा तयगर्नु रहेको बताए । ‘अहिलेको परिस्थितिमा हामीसँग दुईवटा विकल्प छन् । चिन्ता गर्ने वा चिन्तन गर्ने । चिन्ताले समस्या मात्र देखाउँछ र अरुलाई दोष दिन सिकाउँछ । तर, चिन्तनले समाधान खोज्न प्रेरित गर्छ । कांग्रेसलाई अहिले चिन्तनको खाँचो छ ।’

सभापति थापाले पार्टीभित्र सबैलाई मिलाएर लाने आफ्नो जिम्मेवारी रहेको हुँदा सबैलाई मिलाएर जाने प्रतिबद्धता व्यक्त गरे । चुनावी समीक्षामा उनले पार्टीका शीर्ष नेतासँग कुराकानी सुरु गरेको जानकारी गराए । पार्टीमा वृहत्तर एकताका लागि नेताहरुसँग संवाद हुने उनले बताए । ‘पार्टीभित्र बस्दै आएका हामीहरु मात्रै मिलेर हुँदैन । पार्टीलाई वर्षौदेखि समर्थन गर्दै आउनुभएको ठूलो पङ्ति छ,’ थापाले भने, ‘सदस्यभन्दा बाहिर हाम्रो लाखौं समर्थक हुनुहुन्छ । हामीलाई यसपटक भोट हाल्नु भएन ।किन ? त्यो खोजौं भन्ने मेरो कुरा हो, पार्टीभन्दा बाहिर रहेका शुभेच्छुक र समर्थकलाई पनि पार्टीमा जोड्नुपर्ने छ ।’पार्टीको सदस्यता लिएर कांग्रेसले भोट हाल्दिन भन्नेले कांग्रेस छोड्न उनले सुझाव दिए ।

पार्टी संरचनामा व्यापक परिवर्तन आवश्यक रहेको उनले बताए । पार्टीभित्र अब विवादको अध्याय अन्त्य भएको थापाले नेता कार्यकर्तासँग भने, ‘विशेष महाधिवेशन ठीक थियो÷थिएन भन्ने अध्याय अब सकियो । यो बहसलाई यही अन्त्य गर्ने हो ।’ चुनावमा मत बदल्ने शुभच्छेकहरुलाई पनि भेट्नु उनले बताए । सभापति थापाले पार्टीभन्दा बाहिर रहेको नयाँ पुस्तालाई समेत पार्टीमा जोड्नुपर्ने उल्लेख गरे । कांग्रेसलाई अब सात सालको जस्तो क्रान्तिकारी चेत, ४६ सालको जस्तो लोकप्रिय पार्टी र ७० सालको जस्तो भरोसायोग्य पार्टी बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । अबको १० वर्षपछि नेपाल कता जाला भनेर सोच्ने समुदायलाई कांग्रेसको मञ्च हेर्ने अवस्था सिर्जना गर्नुपर्ने उनको धारणा छ ।

कांग्रेसलाई बलियो बनाउन कांग्रेसलाई बदलेको हौंः महामन्त्री पौडेल

नेका महामन्त्री प्रदीप पौडेलले कांग्रेसलाई बलियो बनाउन कांग्रेसलाई बदलेको बताए । परिस्थिति बदलिएको कारण कांग्रेस बदलनु परेको उनले बताए । महामन्त्री थापाले परिवर्तिन परिस्थितिअनुरुप पुरानो नेतृत्वले पार्टीलाई अगाडि लैजान नसक्ने उल्लेख गरे । रुपान्तरित समाजको एजेण्डलाई कांग्रेसले आत्मसात गर्नुपर्ने उनको बुझाई छ । बुथमा एजेण्ट नै राख्न नसक्ने पार्टीले चुनाव जितेको भन्दै महामन्त्री पौडेलले संगठन र संरचनाले मात्र निर्वाचनमा सफलता पाउन नसक्ने बताए । आमजनताबीच कांग्रेसबारे सकारात्मक सन्देश प्रवाह हुन नसक्दा चुनावमा पराजय भोग्नुपरेको उनले उल्लेख गरे । महामन्त्री पौडेलले अब डिजिटल प्लेटफर्ममार्फ्त कांग्रेसको धारणा निर्माण गर्न क्रियाशील सदस्यहरु लाग्नुपर्ने बताए । समाजको सामाजिक गतिविधिमा क्रियाशील सदस्यले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।

पार्टीलाई अब डिजिटलाईज ढंगले सञ्चालन गर्नुपर्ने आवश्यक उनले औंल्याएका छन् । महामन्त्री पौडेलले अबको १ वर्षपछि हुने स्थानीय र प्रदेशको चुनावमा पार्टीलाई डिजिटलाईन गर्न सकेन भने चुनाव पनि जित्न नसकिने बताए । विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले आफ्नो दायित्व पूरा नगर्ने हो भने स्थानीय चुनाव जित्न कठिन हुने उनको भनाइ थियो । नागरिकसँग कसरी जोडिने भन्नेबारे संगठले ठोस योजना तयगरेको उल्लेख गर्दै उनले आफू आबद्ध संठनलाई गतिशील बनाउन सबैलाई आह्वान गरे । संगठित संरचनाले सहयोग गरेमा मात्रै पार्टीलाई छिटो र सजिलोसँग रुपान्तरण गर्न सकिने उनले बताए ।

सर्वोच्चको फैसलाबाट पार्टीभित्रको महाधिवेशनको सर्वोच्चता स्थापित भयोः महामन्त्री घिमिरे : यसैगरी पार्टीका अर्का महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको फैसलाबाट पार्टीभित्रको महाधिवेशनको सर्वोच्चता स्थापित भएको बताए । पार्टीका सदस्यले उठाएका विषयलाई नेतृत्ववर्गले छल्न र टाल्न पाइँदैन भन्ने मान्यता स्थापित भएको उनले उल्लेख गरे । महामन्त्री घिमिरेले विधानको बाध्यकारी अवस्थालाई छल्न नपाइने जिकिर गरे । विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व हस्तान्तरणमात्र नभई पुुस्तान्तरण भएको उनको भनाई छ । महामन्त्री घिमिरेले व्यवस्था, पार्टी र नयाँ पुस्ताको निम्ति निर्मम बन्नुपर्ने बताए ।समीक्षा कार्यक्रममा पार्टीका सहमहामन्त्री बहादुरसिंह लामाले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको व्यवस्थापनमा भएको कार्यक्रममा प्रदेशको ३३ वटै क्षेत्रका उम्मेदवारलगायत जिल्ला सभापतिहरुले आआफना्े धारणा राखेका थिए । बागमती प्रदेशमा नेपाली कांग्रेसले रसु्वामा मात्र जित हासिल गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*