ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण हुँदै
हेटौंडा- हेटौंडामा ज्येष्ठनागरिकका लागि विश्रामस्थल निर्माणकार्य सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४ अन्तर्गत लोकतान्त्रिकचौर (हुप्रा) मा संरचना निर्माण गर्न थालिएको हो ।४ नं. वडाध्यक्ष नवीन सिग्देलका अनुसार चालु आर्थिक वर्षभित्रै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट विनियोजित १८ लाख रुपैयाँ बजेटमा निर्माण भइरहेको विश्रामस्थलको काम सुरु भइसकेको छ र एक महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
हुप्राचौरमा बिहान, दिउँसो तथा साँझको समयमा ज्येष्ठनागरिकहरु भेलाभइ बस्ने, कुराकानी गर्ने तथा घामताप्ने गर्दछन् । यस्तो गतिविधिलाई सहज बनाउन तथा घाम, हुरी बतासबाट जोगिनका लागि विश्रामस्थल उपयोगी हुने विश्वास गरिएको छ ।चौरमा बालबालिका खेल्ने, व्यायाम गर्ने तथा दौडनेहरुको पनि बाक्लो उपस्थिति रहने गरेको छ । तर, खुला चौरभित्र विभिन्न भौतिक संरचना निर्माण हुँदै जाँदा चौर खुम्चिँदै गएकोप्रति स्थानीयवासीले गुनासो गरेका छन् । हुप्राचौरमा दैनिक सयौँको संख्यामा मानिसहरु आउने गरेका छन् ।







