मकवानपुरमा सञ्चालित परियोजनाको सामाजिकपरीक्षण

साझाकुरा
२०८३ बैशाख १०, बिहीबार ०७:४१

हेटौंडा- दलित महिला तथा किशोरीको मानवअधिकार प्रवद्र्धन परियोजनाको सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ । दलित महिला तथा किशोरीको मानवअधिकार प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरमा सञ्चालन गरिएको परियोजनाको सामाजिकपरीक्षण भएको हो । दातृनिकाय फाउन्डेसन फर जस्ट सोसाइटीको सहयोगमा सञ्चालित परियोजनाको सामाजिकपरीक्षण दलित महिला संघ (फेडो) को आयोजनामा जिल्ला समन्वय समिति सभाहलमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा गरिएको हो । सन् २०२३ देखि कार्यान्वयनमा आएको तीनवर्षीय परियोजनामा २१ वटा दलित समूहका ५ सय ५१ सदस्य, २५ जना दलित महिला अगुवा अभियन्ता तथा दुईवटा महिला साझा सञ्जालका ३१ जना प्रत्यक्ष सहभागी रहेका छन् ।

परियोजनासँग सम्बन्धित दुईवटा दलित महिला समूह र दुईवटा किशोरी सञ्जालमार्फत् ४५ जना बालबालिका पनि प्रत्यक्षरुपमा सहभागी भएका छन् । परियोजनाका द्वितीय सहभागीकारुपमा धर्मगुरु, पत्रकार, गैरदलित समुदायका महिला तथा बालबालिका, सरकारी निकाय, क्रसकटिङ सवालमा संलग्न सरोकारवाला निकाय, विद्यालय तथा शिक्षक रहेका छन् । सहकार्य, निरन्तरता र दिगोपनालाई कार्यरणनीति बनाएको परियोजनाले स्थानीय तहमा सार्वजनिक संवाद तथा अन्तरक्रिया, प्रदेशस्तरीय कार्यक्रम, अन्तर्राष्ट्रिय महिला दिवस तथा जातीय छुवाछुत तथा भेदभावविरुद्धका अन्तर्राष्ट्रिय दिवसमा विविध कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।

परियोजनाअन्तर्गत धर्मगुरुसँग अन्तरक्रिया, विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप, अगुवा अभियन्ता बैठक, जनप्रतिनिधि तथा अभियन्ताका लागि क्षमता अभिवृद्धि तालिम तथा कानुनी सहायता प्रदान गरिएको जनाइएको छ । हिंसा पीडितलाई परामर्श सेवा, उद्यमशीलता प्रवद्र्धनका लागि तालिम, व्यवसाय सुरु गर्न सहयोगस्वरुप १० समूहलाई ६ लाख रुपैयाँ तथा २० समूहलाई ५ लाख रुपैयाँ म्याचिङ फन्ड उपलब्ध गराइएको छ । संस्थाले ३० वटा महिला समूहलाई बीउपूँजी तथा म्याचिङ फन्डकारुपमा २१ लाख २० हजार रुपैयाँ प्रदान गरेको प्रतिवेदनमा जनाइएको छ ।

कुल २५ लाख ८९ हजार रुपैयाँ बचत संकलन भएको छ । दलित महिलाको आयआर्जनमा वृद्धिगर्न नियमित तथा घुम्तीकोष मार्फत ऋण परिचालन गरिँदा ७२ जना आयआर्जनमा संलग्न भएका छन् भने १ सय ५२ जना महिलाले उद्यम विकास तथा व्यवसाय विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।परियोजनाबाट सामाजिक क्रियाकलापमा दलित महिलाको सहभागिता बढ्दै गएको जनाइएको छ । सहकारी, खानेपानी तथा विद्यालय व्यवस्थापन समिति लगायतका क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धि भएको छ ।

दलित महिलाका मुद्दाप्रति स्थानीय सरकार अझ संवेदनशील बन्दै गएको वडा नम्बर ३ की सदस्य देवकी विकले बताइन् । परियोजनामा आबद्ध भएपछि आएको परिवर्तनबारे अनुभव सुनाउँदै अनिता विकले क्षमता अभिवृद्धि कार्यक्रम, प्रतिवेदन लेखन तालिम तथा बोल्ने सीपमा उल्लेखनीय सुधार आएको बताइन् । परियोजना मकवानपुरको बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा सञ्चालन हुँदै आएको छ भने राक्सिराङ र मनहरी गाउँपालिकामा समेत समूह विस्तार गरिएको छ । परियोजनाका लागि ८४ लाख ३ हजार बजेट रहेकोमा ७३ लाख ३५ हजार खर्च भएको जनाइएको छ ।

फेडो मकवानपुरकी उपाध्यक्ष सुनिता दर्नालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन, कार्यपालिका सदस्य इश्वरी रसाइली तथा वडा सदस्य रीता मग्राती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*