सीपमूलक तालिम सम्पन्न
हेटौंडा- अपाङ्गता भएका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले हेटौंडामा सञ्चालन गरिएको सीपमूलक तालिम सम्पन्न भएको छ । तालिमले सहभागी महिलामा सीपसँगै आत्मविश्वास पनि बढाएको छ । बुधबार प्रमाणपत्र वितरण गर्दै चैत १ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको तालिम समापन गरिएको हो । हेटौंडामा २० दिनसम्म सञ्चालन भएको बहुउपयोगी कपडाका ब्याग निर्माण तालिमले अपा·ता भएका महिलाको जीवनमा नयाँ आशा थपेको छ । सामाजिक विकास कार्यालय हेटौंडाको सहयोग र अपा·ता भएका महिलाको संस्थाको आयोजनामा सञ्चालन भएको तालिममा २० जना सहभागी भएका थिए ।
५ लाख रुपैयाँको बजेटमा सञ्चालन गरिएको तालिममा सहभागीले झोला, पर्स तथा विभिन्न सामग्री बनाउन सिकेका छन् । सीप सिक्नु मात्र होइन, आफ्नै खुट्टामा उभिने आत्मविश्वास पाउनु नै यो तालिमको मुख्य उपलब्धि बनेको सहभागीहरु बताउँछन् । समापन कार्यक्रममा तालिममा सहभागीले बनाएका ब्यागको बजारीकरणमा सहयोग गर्नुको साथै थप कार्यक्रम मार्फत अपा·ता भएका महिलाको शासक्तीकरणमा जोड दिने नगरप्रमुख मीनाकुमारी लामाले प्रतिबद्धता व्यक्त गरिन् ।







