हेटौंडामा अनधिकृत तीनपांग्रे सञ्चालनमा रोक

साझाकुरा
२०८३ बैशाख २८, सोमबार १३:१३

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालन हुँदै आएका तीनपांग्रे अटो तथा विद्युतीय सवारीसाधन व्यवस्थापनमा कडाइ गर्ने भएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै २०७६ साल भन्दा पछाडि दर्ता भएका तीनपांग्रे सवारी सञ्चालन गर्न निषेध गरिने जनाएको छ । उपमहानगरकाअनुसार हाल स्टिकर टाँस गरी सञ्चालन अनुमति प्राप्त तीनपांग्रे सवारी साधनको संख्या २ हजार ३५ रहेको छ । तर, विभिन्न गाउँपालिका तथा बाहिरी जिल्लाबाट आएर अनुमतिबिना सञ्चालन भइरहेको अटोको संख्या बढेपछि नियन्त्रणका लागि कडाइ गरिएको जनाइएको छ । सूचनामा उल्लेख भएअनुसार तीनपांग्रे सवारीसाधन व्यवस्थापनसम्बन्धी नीति, नियम तथा कानुनी व्यवस्था निर्माणको प्रक्रिया अघि बढिरहेको छ ।

आगामी दिनमा विद्युतीय सवारीसाधनलाई व्यवस्थित बनाउन एक्सचेन्ज प्रणालीमार्फत व्यवस्थापन गरिने तयारी भइरहेको जनाइएको छ । उपमहानगरले अनुमति नलिएका तथा स्टिकर नभएका सवारीसाधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय र नगरप्रहरीसँगको समन्वयमा अनुगमन गरी नियन्त्रणमा लिई कार्वाहीको दायरामा ल्याइने चेतावनी दिएको छ ।बजारमा विभिन्न कम्पनीले रातो नम्बर प्लेटको प्रलोभन देखाएर अटो बिक्री गरिरहेको गुनासो आएपछि उपमहानगरले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । अनुमति नलिई सञ्चालन गर्न नमिल्ने भएकाले यस्ता सवारीसाधन खरिद गर्दा विशेष सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरिएको छ ।

उपमहानगरले सूचना अवज्ञा गरी सवारीसाधन खरिद वा सञ्चालन गरेमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाले स्वयं वहन गर्नुपर्ने स्पष्ट पारेको छ ।उपमहानगरले तीनपाँग्रे विद्युतीय तथा अटो मेकानिक्स सवारीसाधनको संख्या एकिन गरी २०७६ साल पुस ६ गतेदेखि हरेकवर्ष स्टिकर टाँस गरेर मात्रै सञ्चालन अनुमति दिदै आएको नगरप्रवक्ता सबिन न्यौपानेले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*