हेटौंडा उपमहानगरको बजेटमा सुझाव लिन ‘क्यूआर कोड’

साझाकुरा
२०८३ बैशाख ३१, बिहीबार ११:४५

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट, नीति तथा कार्यक्रमलाई थपपारदर्शी, प्रभावकारी तथा सहभागिता मूलक बनाउन सुझाव संकलन गर्ने भएको छ ।उपमहानगरले नागरिक, बुद्धिजीवी, व्यवसायी, युवा, महिला, किसान, शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवालाबाट विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, वातावरण संरक्षण, खानेपानी, सडक तथा सामाजिक विकासलगायत विषयमा सुझाव संकलन गर्न क्यूआर कोड सञ्चालन गरेको हो । स्थानीय सरकारका नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले क्यूआर कोडमार्फत् सुझाव संकलनको व्यवस्था गरिएको हो ।

कार्यालयले सार्वजनिक गरेको क्यूआर स्क्यान गरेर नागरिकले आफ्ना सुझाव पठाउन सक्ने उपमहानगरले जनाएको छ । यसो गर्दा नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा पारदर्शी हुने नगरप्रमुख मीनाकुमारी लामाले बताइन् । जनताको आवश्यकता, अपेक्षा र सुझावका आधारमा योजना तथा कार्यक्रम निर्माण गर्दा विकासलाई अझ प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउन सहयोग पुग्ने उनको भनाइ छ । नगरप्रमुख लामाले स्थानीय तहको विकासमा नागरिकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सबै क्षेत्र र समुदायको सहभागिताबाट समृद्ध हेटौंडा निर्माण गर्न सकिने बताइन् ।

उनले नगरवासीले दिएका सुझाव प्राथमिकताका साथ अध्ययन गरी आगामी बजेट तथा कार्यक्रममा समावेश गरिने जानकारी दिइन् । उपमहानगरले ‘समृद्ध हेटौंडा, समावेशी विकास’को लक्ष्य आत्मसात् गर्दै दीर्घकालीन विकास, सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सुझाव संकलन अभियान सञ्चालन गरिएको जनाएको छ । स्थानीय सरकारप्रति नागरिकको अपनत्व बढाउने, योजना निर्माण प्रक्रियालाई खुला र उत्तरदायी बनाउने तथा वास्तविक आवश्यकताअनुसार कार्यक्रम तर्जुमा गर्न यस्तो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ । उपमहानगरले सबै नगरवासीलाई सक्रिय सहभागिता जनाई रचनात्मक सुझाव दिन आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*