‘जबज’को सान्दर्भिकता अझ बढेको छः पूर्वमुख्यमन्त्री पौडेल

साझाकुरा
२०८३ जेष्ठ ४, सोमबार ११:४५

हेटौंडा-बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान राजनीतिक परिस्थितिमा जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सान्दर्भिकता अझ बढेर गएको बताएका छन् ।३३ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आईतबार हेटौंडामा आयोजित श्रद्धाञ्जली कार्यक्रमका अवसरमा उनले यस्तो बताएका हुन् । मदन भण्डारी फाउन्डेसन मकवानपुरको आयोजनामा हेटौंडा–९ स्थित दिव्य बालउद्यानमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले मुलुकको समृद्धि र राजनीतिक स्थिरताका लागि जबजको मार्गदर्शन अपरिहार्य रहेको उल्लेख गरेका छन् । उनले आफूहरु पदमा रहेपनि नरहे पनि मकवानपुर र समग्र बागमती प्रदेशको विकासका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका नेता एवं राष्ट्रियसभाका पूर्वसदस्य केदार न्यौपानेले पार्टीको सिद्धान्त र निष्ठाप्रति प्रतिबद्ध हुँदै एमालेले सधैँ जनताको आधारभूत आवश्यकता र राष्ट्रियताको पक्षमा आवाज उठाइरहने दाबी गरे । त्यस्तै, एमाले बागमती प्रदेश कमिटी सदस्य सुमित्रा काफ्लेले महिला हकहित र नेतृत्व विकासमा जोड दिइन् भने एमाले मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामाले समाज रुपान्तरण र समृद्धिको यात्रामा सबै एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा हेटौंडा–९ का वडाअध्यक्ष सुकराम केसीले दिव्य बालउद्यान लगायत समग्र वडाको विकास निर्माणका कार्यमा स्थानीय जनप्रतिनिधि निरन्तर लागिपरेको बताए । फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालले जननेता भण्डारीको विचारलाई आत्मसात गर्दै समाजमा समानता, न्याय र लोकतन्त्र स्थापनाका लागि फाउन्डेसन निरन्तर सक्रिय रहने बताए । त्यसअघि कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताले दिव्य बालउद्यानमा रहेको जननेता मदन भण्डारी र जीवराज आश्रितको प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । फाउन्डेसनले यो वर्ष मदन–आश्रित स्मृति दिवसका अवसरमा शनिबार संस्कृत विद्यालयमा खाद्यान्न वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*