कपडा उद्योग सञ्चालनप्रति उद्योग मन्त्री यादवको चासो
हेटौंडा-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौंडा औद्योगिक क्षेत्रको अवलोकन निरीक्षण गरेकी छन् । देशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्रमध्येको एक हेटौंडा औद्योगिक क्षेत्रको शनिबार निरीक्षण गर्दै मन्त्री यादवले औद्योगिक क्षेत्रको वर्तमान अवस्थाको बारेमा जानकारी लिइन् । औद्योगिक क्षेत्रस्थित उद्योगहरुको निरीक्षणका क्रममा मन्त्री यादवले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग लिमिटेडको बारेमा समेत जानकारी लिएकी थिइन् ।हेटौंडा औद्योगिक क्षेत्रको अवलोकनका लागि आएकी मन्त्री यादवलाई हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, हेटौंडाका क्षेत्र व्यवस्थापक स·िता कुँवरले औद्योगिक क्षेत्रको अवस्था र समस्याका बारेमा जानकारी गराएकी थिइन् ।क्षेत्र व्यवस्थापक कुँवरले औद्योगिक क्षेत्रको बस्तु स्थिति र समग्र अवस्थाका बारेमा छलफल भएको भन्दै औद्योगिक क्षेत्रस्थित हेटौंडा कपडा उद्योगको समेत मन्त्री यादवले अवलोकन गर्नुभएको जानकारी दिइन् ।
‘मन्त्री यादवले कपडा उद्योगको चासोपूर्वक अवलोकन गर्नुभयो । हामीले उद्योगको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका छौ ।’ क्षेत्र व्यवस्थापक कुँवरले भनिन्, ‘कपडा उद्योग सञ्चालनको बारेमा पनि छलफल भएको छ, कुँवरले भन्नुभयो, यसका बारेमा सरकारले आवश्यक निर्णय गर्छ नै होला ।मन्त्री यादवको सचिवालयले कपडा उद्योग पुनः सञ्चालनका तयारीका क्रममा औद्योगिक क्षेत्रको मन्त्री यादवले निरीक्षण गरेको भन्दै निरीक्षणका क्रममा उद्योग सञ्चालनको प्रक्रिया तीव्ररूपमा अगाडि बढाइने विषयमा छलफल गरिएको जनाएको छ । चिनियाँ सरकारको सहयोगमा स्थापना भएको उक्त उद्योग रुग्ण अवस्थामा पुगेको छ । जीर्ण अवस्था पुगेको कपडा उद्योग सरकार परिवर्तनसँगै नीति र कार्यक्रममा उक्त रुग्ण उद्योग पुनः सञ्चालनको सूचीमा पर्ने र चर्चामा आउने गरेको छ ।
कुनै समय नाफा गएर कर्मचारी कामदारलाई बोनस बाँड्ने अवस्थामा पुगेको उक्त उद्योग आन्तरिक समस्या र प्रतिस्पर्धामा टिक्न नसकेर वि.सं. २०५७ साल फागुन १ गतेबाट बन्द भएको थियो । उद्योगमा कार्यरत् सम्पूर्ण कामदार कर्मचारीको दायित्व भुक्तानी गर्दै तत्कालीन सरकारले उद्योग बन्द गर्ने निर्णय गरेको हो । खण्डहर अवस्थामा पुगेको सो उद्योग पुनःसञ्चालनका लागि २०८० जेठमा नेपाली सेनाले चासो देखाउँदै सरोकारवालासँग छलफल समेत गरेको थियो । सेनाको टोलीले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय र उद्योगका तत्कालीन कर्मचारीसँग उद्योगको अवस्था, भौतिक संरचनालगायतका बारेमा जानकारी लिएको थियो ।
उद्योगका पूर्व कर्मचारीहरुले उद्योग मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउँदा प्रतिस्पर्धामा टिक्न सक्ने अवस्थामा नरहेकोले यथास्थितिमा सञ्चालन नगरी उपकरणहरू पूरै प्रतिस्थापन गर्न सेनाको टोलीलाई सुझाएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको समयमा आठ करोड रुपियाँभन्दा बढी विनियोजन गरी मर्मतका लागि केही बजेट खर्च गरिएको थियो । तर, उद्योग सञ्चालनमा आउन सकेन । बन्द भएको सुती कपडा उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने पछिल्ला सरकारहरुको प्राथमिकता पर्दै आए पनि सरकारका प्रयास असफल हुँदै आएको छ ।
उद्योगमा रहेको धागो बनाउने र रङ्ग्याउने उपकरण खिया लागेर कामै नलाग्ने अवस्थामा छन् । धागो बनाउने लुमसम्म प्रयोगमा आउने अवस्थामा छैनन् । तत्कालीलन अवस्थामा उद्योगमा ११ सयभन्दा बढीलेरोजगारी पाएका थिए । २०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालमा निर्माण सम्पन्न भएर हस्तान्तरणपछि व्यावसायिक उत्पादन थालेको थियो । २०३८ सालबाट उद्योगले उत्पादन क्षमता बढाएको थियो । दैनिक एक सिफ्टमा संचालन भइरहेको हेटौंडा कपडा उद्योगले उत्पादन क्षमता बढाएर २०३८ सालबाट दैनिक दुई सिफ्ट सञ्चालन ल्याएको थियो । त्यसलगत्तै उद्योगले पुनः आफ्नो उत्पादन क्षमतामा बिस्तार गरी दैनिक ३ सिफ्टमा उद्योग संचालन गरेको थियो ।
दुई सिफ्ट संचालनगरेको ठिक एक वर्षपछि अर्थात् २०३९ वैशाखबाट उद्योगको उत्पादन क्षमता विस्तार गरी दैनिक ३ सिफ्टमा उद्योग सञ्चालनमा ल्याइएको थियो । तत्कालीन समयमा ३ सिफ्टमा पूर्ण क्षमतामा उद्योग संचालन गर्दै उद्योगले वार्षिक १ करोड १० लाख मिटर कोरा कपडा, २ सय ५० मेट्रिक टन सुती कपडा र २ सय ५० मेट्रिक टन बुट्टेदार र सेता कपडा उत्पादन गर्ने गरेको थियो ।उद्योगमा कार्यरत् कर्मचारीका छोराछोरीको अध्ययनका लागि उद्योग परिसरभित्रै हेटेक्स स्कुल पनि संचालनमा ल्याइएको थियो । उद्योग स्थापनादेखि नाफामा रहेको हेटौंडा कपडा उद्योग २०५४ सालदेखि भने एकाएक समस्या देखापरेकोथियो । करिव १९ वर्षसम्म बिना घाटा चलेको हेटौंडा कपडा उद्योग आर्थिक वर्ष २०५४÷०५५ बाट भने घाटा व्यहोर्न बाध्य बनेको थियो ।
राजनीतिक नियुक्ति, सरकार परिवर्तन पछिको हस्तक्षेप र कर्मचारी आन्दोलनको प्रत्यक्ष असरका कारण हेटौंडा कपडा उद्योगमा समस्या उत्पन्न भएको तत्कालीन समयमा उद्योगमा कार्यरत् कर्मचारीहरु बताउँछन् । बन्द अवस्थाको कपडा उद्योगको हालको संरचना १६५रोपनी क्षेत्रफल रहेको छ ।हाल हेटौंडा कपडा उद्योग औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको छ भने उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको क्याम्प खडा गरिएको छ ।
‘मयुरधाप औद्योगिक क्षेत्रको जग्गा विवाद समाधान गर्न सरकार प्रतिबद्ध’
बहुप्रतिक्षित मयुरधाप औद्योगिक क्षेत्र अब लामो समयदेखिको जग्गा विवाद अन्त्यसँगै सञ्चालनमा आउने संकेत देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले मयुरधाप औद्योगिक क्षेत्रको विवाद समाधान गरी तत्काल सञ्चालन प्रक्रिया अघि बढाइने स्पष्ट निर्देशन दिएकी छन् ।मन्त्री यादवले औद्योगिक क्षेत्रको स्थलगत तथा प्रशासनिक अवस्थाबारे जानकारी लिँदै वर्षौँदेखि अल्झिएको जग्गा विवादका कारण उद्योग स्थापना प्रक्रिया प्रभावित भएको बताइन् । उनले स्थानीय सरोकारवाला, प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरेर समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
उनका अनुसार औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि बागमती प्रदेशमा रोजगारी सिर्जना, स्थानीय उत्पादन वृद्धि तथा औद्योगिक लगानी आकर्षित हुने अपेक्षा गरिएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको परियोजनालाई गति दिन मन्त्रालयले विशेष पहल थालेको पनि उनले जानकारी दिइन्।स्थानीय उद्योगी व्यवसायीहरूले समेत मयुरधाप औद्योगिक क्षेत्र सञ्चालनमा आए मधेशको आर्थिक गतिविधिमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् । उनीहरूले सरकारले अब घोषणा मात्रै नभई व्यवहारिक रूपमा काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।मयुरधाप औद्योगिक क्षेत्रलाई प्रदेशकै महत्वपूर्ण औद्योगिक हबका रूपमा हेरिँदै आएको भए पनि जग्गा विवाद र प्रशासनिक जटिलताका कारण योजना वर्षौँदेखि रोकिएको थियो । अब भने सरकारको सक्रियतासँगै परियोजनाले नयाँ गति लिने अपेक्षा गरिएको छ ।







