विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित
हेटौंडा-हेटौंडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । एसईई २०८२ मा सफल विद्यार्थी, उनीहरुका अभिभावक र शिक्षकलाई सम्मान गरिएको हो ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद बस्ताकोटीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा १६ नम्बर वडाका अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । ३.२ वा सो भन्दा माथि जिपिए ल्याएका विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान तथा ग्रेडेड सम्पूर्णमा प्रमाणपत्रसहित फ्रेम खादा दिएर सम्मान गरिएको प्रधानाध्यापक भूपेन्द्र चौलागाईंले बताए । कार्यक्रमका विशिष्टअतिथि तथा शिक्षा विकास महाशाखा हेटौंडाका अधिकृत रमेश बिडारीले सामुदायिक विद्यालयका रुपमा जनप्रिय माविले अन्य विद्यालयलाई चुनौती दिइरहेको बताए ।
उनले विद्यालय समयमैँ विद्यार्थीलाई तयारी गराउँदै ‘क्लोजक्याम्प’ राख्नुपर्ने अवस्था अन्त्य गर्नेगरी योजना बनाउन आग्रह गरे । प्रमुखअतिथि वडाध्यक्ष कोइरालाले आसपासका विद्यार्थी संख्या न्यून रहेका अन्य विद्यालय समेत मर्ज गरी यस विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनका लागि लागिपरेको सोअनुसार नतिजा उत्कृष्ट हुँदै गएको बताएका छन् । पूर्वअध्यक्ष रमेशप्रसाद खतिवडा, अभिभावक तथा विद्यार्थीले विद्यालयको बारेमा प्रकाश पारे । कक्षा १० मा ग्रेडेड समृद्दि गौतमको अभिभावकले बालबच्चालाई अध्यापनका अलावा जस्तोसुकै ठूलो समूहमा पनि बोल्ने र लेख्ने कलासमेत विद्यालयले सिकाइदिएको बताउँदै कक्षा ११ मा आफ्नी छोरी भर्ना गर्ने प्रतिबद्धता सहित धन्यवाद ज्ञापन गरे ।
यस्तै अभिभावक केशव सुवेदीले संस्थागत विद्यालयकै सरह सुविधा प्रदान गरी अध्ययन अध्यापन गराइएकोले आफ्ना दुबै सन्तान यसै विद्यालयमा अध्ययन गराएको बताए । प्रधानाध्यापक चौलागाईंले शतप्रतिशत नतिजा हासिल गर्नेतर्फ सि·ो टिम योजनासहित लागिरहेको बताउँदै मिडिया कक्ष, गणितलगायत विषयगत प्रयोगशाला निर्माण गरी व्यवहारिकता मार्फत् सिकाइ भइरहेको र नलेज पार्क निर्माण अन्तिमचरणमा पुगेको जानकारी गराए । विषयगतरुपमा उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा विद्यार्थीलाई शिक्षकबर्गले नगदसहित सम्मान गरेका थिए । औषत जिपिएका आधारमा सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम भएकोमा विद्यालय परिवारको सामूहिक प्रयासको खुलेरै प्रसंशा गरिएको थियो ।








