२२२ प्रकारका अयोग्य औषधि मनहरी गाउँपालिकाद्वारा नष्ट
हेटौंडा- गतवर्षको भदौ २४ गते जेन्जी आन्दोलनका नाममा आगजनीगरिएपछि मनहरी गाउँपालिकाको औषधि भण्डारका २ सय २२ थरिका औषधि काम नलाग्ने भएका छन् । उच्चतापक्रमका कारण औषधि खानयोग्य नहुने भएकाले मनहरी गाउँपालिकाले नष्ट गर्न सुरु गरेको छ ।गाउँपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुनसार औषधिभण्डारमा आगजनी भएपनि कतिपय औषधि जलेका भने थिएनन् । औषधि नजले पनि उच्चतापमा परेकाले प्रयोग गर्न उपयुक्त नहुने विज्ञको भनाइ छ । त्यसैले आगजनीमा परेका औषधिलाई व्यवस्थित ढंगले नष्ट गर्न थालिएको शाखाका संयोजक रामचन्द्र दाहालले बताए । उनका अनुसार २ सय२२ थरिका औषधि नष्ट गरिएको छ । गाउँपालिकाले नगरप्रहरी प्रयोग गरेर हरेक ट्याब्लेटलाई खोलबाट निकाली जमिनमा गाडेको हो । तरलप्रकृतिका औषधिका बोत्तल फुटाएर एकै भाँडोमा संकलन गरी नष्ट गर्न थालिएको संयोजक दाहालले बताए ।
उनकाअनुसार नष्ट गरिने सबै औषधिको मूल्य ३३ लाख रुपैयाँभन्दा बढी रहेको छ । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, प्रमुख प्रशासीय अधिकृत रमेश सुवेदी, सञ्चारकर्मी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सरोकारवाला लगायतको उपस्थिति रोहबरमा औषधि नष्ट गर्ने कार्य गरिएकोहो ।२०८२ साल भदौ २४ गते देशभर भएको आन्दोलनका क्रममा मनहरी गाउँपालिकाको अध्यक्षको कक्ष, जिन्सी शाखासहित, लामिटारमा रहेको स्वास्थ्य, सामाजिक, पशु, शिक्षा लगायत शाखामा क्षति पुगेको थियो भने सभाहल समेत जलाइएको थियो ।








