मकवानपुरगढीमा मानवअधिकार सचेतना कार्यक्रम

साझाकुरा
२०८३ जेष्ठ ११, सोमबार १३:०९

हेटौंडा-मकवानपुरगढी गाउँपालिकामा मानव अधिकार सचेतना एकदिवसीय कार्यक्रम सम्पन्न भएको छ । आइतबार गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा कार्यक्रम आयोजना गरिएको हो ।नेपाल मानवअधिकार संगठन मकवानपुरको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास कार्यालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहालले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै स्वागत मन्तव्य व्यक्त गरेका थिए । संस्थापक अध्यक्ष दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर–३ का सदस्य प्रेमबहादुर थोकर प्रमुखअतिथिकारुपमा सहभागी थिए । कार्यक्रममा कार्यपालिका सदस्य मन्जु योन्जनलगायत विभिन्न टोल विकासका करिब ६० जनाको सहभागीता थियो ।

प्रमुखअतिथि थोकरले मानवअधिकार र कर्तव्यबारे थप जान्ने अवसर कार्यक्रमबाट मिलेको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा माइती नेपालकी संयोजक माया लामाले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध प्रस्तुतीकरण दिएकी थिइन् । उनले मानवबेचबिखनको वर्तमान अवस्था, कानुनी प्रावधान, बेचबिखन हुनुका उद्देश्य र कारणबारे जानकारीगराइन् । अधिवक्ता पम्फा पुरीले मानवअधिकारसम्बन्धी कानुनी प्रक्रियाबारे जानकारी दिँदै मानव अधिकार हनन, पीडित र पीडकको परिभाषा, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, सार्वजनिक अपराध
तथा कानुनी प्रावधानबारे प्रस्तुतीकरण दिइन् ।

उनले पछिल्लो समय बालविवाह गरेका २३ देखि २८ वर्ष उमेर समूहका दम्पती सम्बन्ध विच्छेदका लागि आउने क्रम बढ्दै गएको जानकारी दिइन् । मकवानपुर रिकभरिङ समूहका सदस्य अशेष थापाले लागुऔषध दुव्र्यसनसम्बन्धी प्रस्तुतीकरण दिएका थिए । उनले लागुऔषध सेवनका लक्षण, त्यसबाट हुने असर, अभिभावकको भूमिका, प्रयोगकर्ताको पहिचान तथा बागमती प्रदेशमा लागुऔषधको अवस्थाबारे जानकारी गराएका थिए । नेपालमा हुने करिब ७० प्रतिशत अपराध तथा घटनामा लागुऔषधको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहेको दाबी उनले गरे ।

त्यसैगरी डा. जया कोइरालाले मानवस्वास्थ्य र दैनिक जीवनमा स्वस्थ रहने विषयमा प्रस्तुतीकरण दिएकी थिइन् । उनले किशोरावस्था र पोषण, मित्रता र माया, महिनावारी, सुर्तीजन्यपदार्थ, यौन तथा यौनसम्बन्ध, गर्भावस्थार गर्भपतन, सर्ने तथा नसर्नेरोगलगायत विषयमा जानकारी दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*